डाक्टर साहेबलाई खुल्ला पत्र

 साउन ९, २०७५ बुधबार १८:३६:३१ | राधेश्याम खतिवडा
unn.prixa.net

डाक्टर साहेब नमस्कार, 

भेटेरै कुरा गरेको भए पनि हुने थियो । बिरामी भएर उपचारको लागि तपाईंको अगाडि पुग्दासम्म त बिरामीसँग खुलेर सबै कुरा सोध्न नभ्याउने तपाईंहरुले हामीलाई समय दिन सक्नुहुन्छ भन्ने लाग्दैन । अझ अहिले त आन्दोलनमा सक्रिय सहभागी हुनुहुन्छ । त्यही भएर यहाँबाट खुल्ला पत्र लेख्दैछु ।

अस्पतालमा सेवा बन्द गरेर आन्दोलनमा उत्रनुभएको छ । बेथिति अन्त्यको लागि होला । स्वस्थ्य क्षेत्रमा बेथिती अन्त्य होस् । हाम्रो पनि शुभकामना । तर आफू र आफ्नै भित्र भएका कमजोरीको विषयमा चाहिँ समीक्षा गर्नु पर्दैन ? स्वास्थ्य क्षेत्रमा रहेका बेथितिको हिस्सेदार तपाईं पनि हो कि होइन ? 

बिरामी भएर अस्पतालमा उपचार गर्न पुगेकालाई बिचल्ली पारेर सडकमा आन्दोलन गर्न जान तपाईंको मनले कसरी मान्यो ?

बिरामीलाई उपचार गरेर स्वस्थ बनाउने तपाईंको पेशाप्रति मेरो कुनै गुनासो छैन । 

तर तपाईंहरुका पछिल्ला प्रवृत्तिप्रति भने मेरा धेरै गुनासा बढेका छन् ।  मानवको जीवन र मरणको दोसाँधमा खटिएर औजार खेलाउने तपाईंको कर्मलाई म सधैँ सम्मान गर्दछु ।

तर त्यही सम्मानित कामलाई व्यापारमुखी बनाइएकोप्रति भने मेरो धेरै गुनासो बढ्दै गएको छ । 

तपाईंको उपचारबाट नयाँ जीवन पाएकाहरु समाजमा धेरै छन् । साथै तपाईंको लापर्बाहीको कारणले दुःख पाउनेहरु पनि यही समाजमा प्रशस्तै देखिन थालेका छन ।  तपाईंले औषधी कम्पनीले दिने बोनस र उपहारको पछि लागेर जथाभावी कमसल औषधी दिँदा धेरैले दुःख पाएका छन् ।  

डाक्टर साहेब तपाईंले राम्रा काम गर्दागर्दै पनि तपाईंको पेशामा असाध्यै डरलाग्दो विकृति भित्रिएको तीतो यथार्थ अब तपाईंले स्वीकार गर्नै पर्ने भएको छ । 

समयमै सुधार गर्नतर्फ नलागे तपाईंको सम्मानित कर्ममा धेरै बाधा अड्चन आउनेछन् र यसको मार आम नागरिकले भोग्नु पर्ने छ ।

डाक्टर साहेब, सबैभन्दा पहिला तपार्इंले डाक्टर बन्नुभन्दा पहिला कहाँकहाँ के के भनेर हस्ताक्षर गर्नुभएको छ, कृपया एकछिन ठण्डा दिमागले सोचिदिनुहोला । 

त्यसमाथि सरकारको छात्रवृत्ति पाएर पढ्ने डाक्टरसाबहरु अझै गम्भीर बन्नुपर्ने हो कि ? 

के भनेका थियाैं ? के गरिरहेका छौं ? सोच्न ढिला भइसकेको छ । 

प्रणाली सुधार त आफैंबाट सुरु गर्नुपर्ने होला नि । आफ्नो विगत सम्झँदै वर्तमान कर्मको समीक्षा गरेर मात्र भविष्यको चिन्ता गर्दा बेश होला ।  

मैले नबुझेको कुरा, डाक्टर साहेब नेपालमा वरिष्ठ डाक्टर कति जना हो ? वरिष्ठ भनेको के हो ? वरिष्ठ हुनका लागि कति वर्ष काम गर्नुपर्ने हो ? मैले भर्खरै पढाई सकेर काम गरिरहेका डाक्टरसापका नामका अगाडि पनि वरिष्ठ झुण्डाएको देख्नु परेको छ ।

के डाक्टर हुने बित्तिक्कै वरिष्ठ भइने हो ? यति धेरै डाक्टरसापहरु वरिष्ठ भएर पनि उपचारमा हुनै नसक्ने र सुन्नै नसकिने कमजोरी किन भइरहेका छन् ? बिरामीलाई तपाईंहरुले गर्ने व्यवहार र पैसाका पछाडि तपाईंको दौडाहा गतिविधि हेर्दा मलाई लाग्छ तपाईहरु नाम वरिष्ठ, काम चाहिँ कनिष्ठ गर्दै हुनुहुन्छ । 

तपाईं कुन मेडिकल र अस्पतालमा कतिखेर जाँदै हुनुहुन्छ भनेर गरिने प्रचार विज्ञापन गर्ने अधिकार कुन कानुनले तपाईंलाई  दिएको छ ? एउटा सचेत नागरिकले यही विषयलाई लिएर कानुनी प्रकृयामा पुगे भने तपाईको हालत के होला ? कहिल्यै तपाईंले यसबारे सोच्नु भएको छ ? 

अझै मैले नबुझेको कुरा, तपाईंहरुको नाम अधिकांश मेडिकल र च्याउसरी खोलिएका गोठे अस्पताल अगाडि राखिएका बोर्डमा झुण्डिएका हुन्छन् । के  त्यो तपाईंको अनुमतिमै भएको हो ? कि तपाईंको नाम बेचेर कसैले लुटिरहेको त छैन ? कि तपाईं ती मेडिकल र गोठे अस्पतालको कमिसनमा भुल्नुभएको छ ? यसबारेमा तपाईंले सोच्नुपर्ने होईन ?

एकजना डाक्टरको नाम एउटै जिल्लामा ४० वटासम्म मेडिकल र अस्पतालमा लेखेर झुन्डाएको देखिन्छ । यस्तो लाजमर्दो विज्ञापन तपाईंलाई आवश्यक छ भने तपाईं कसरी वरिष्ठ हुनुभयो ? यो त कनिष्ठ मानसिकताको उपज होइन र ? 

अझै बडो अच्चम्मको कुरा, तपाईंको एउटै समय रहने गरी धेरै ठाउँमा नाम राखिएका छन् । हेर्दा पनि लाज लाग्नुपर्ने हो डाक्टरसाप तपाईंलाई । आफ्नो नाममाथिको बदनामीप्रति तपाईंको ध्यान किन जाँदैन ?

सरकारी अस्पतालमा सरकारी तलब खाएर काम गर्ने डाक्टरसाप, तपार्इंहरुको नाम  सदरमुकाममा त भयो भयो, बाहिर गाउँगाउँमा रहेका मेडिकलका भित्तामा पनि झुण्डिएका छन् ।

सरकारी अस्पतालमा काम गर्ने तपाईं डाक्टरलाई यो कुन का
तपाईंले सरकारी अस्पतालमा दिनुपर्ने कार्यालय समय नै कसैको मेडिकलनुनले छुट दिन्छ ? सरकारी अस्पातलामा भन्दा बाहिर तपाई बढी व्यस्त हुनु र देखिनु तपाईंको कमजोरी हो कि होइन ?  र अस्पतालमा तोकेर तपार्इंको नाम राखिएको दृष्यले हामीलाई पनि सोच्न वाध्य बनायो डाक्टरसाप । 

नेपालमा यति धेरै आम्दानी गर्ने । रातारात सम्पन्न हुने तपाईंले कर तिर्न पर्दैन र ? कर कार्यालयमा गएर बुझ्दा असाध्यै कम संख्याका डाक्टर मात्र करको दायरामा आएको पाईन्छ । यसतर्फ तपाईंको ध्यान कहिले जाने डाक्टरसाप ? राज्यलाई पाठ सिकाउन खोज्ने, आफू चाहिँ राज्यलाई कर तिर्नबाट भाग्ने, यो कस्तो काइदा हो ? 

सरकारी अस्पताल र ठूला मेडिकल कलेजमा अनुहार देख्न समेत कठिन पर्ने तपार्इं डाक्टर साहेबलाई भेट्न र बोल्न, अनि समस्या राम्रोसँग राख्न पाईन्छ कि भन्दै बिरामी जँचाउन पुग्दा कहिल्यै पनि आफ्ना कुरा सबै भन्न पाउँदैनन् ।

किन त्यस्ता बिरामीसँग तपाईं खुलेर बोल्नु हुन्न ? किन तपार्इंलाई हतार मात्र हुन्छ ? 
तपार्इंलाई जानकारी हुनैपर्छ कि दिनभरी ज्यामी काम गरेर कमाउने बिरामी एकदिनको ज्याला ५ सय रुपैयाँ तिरेर तपाईंसँग जँचाउन आएको हुन्छ ।

धेरै टाढा टाढाबाट आएका दुखी गरिब बिरामी तपाईँकहाँ पुग्दा ५ मिनेट समय पनि पाउँदैन । किन डाक्टरसाप यस्तो हतार ?

अनि तपाईंले कुनै पनि बिरामीको बारेमा लेखेको प्रेस्किृप्सन ठिक छ ? त्यसमा लेखिएका अक्षर प्रकार शैली के साँच्चिकै ठिक छन् ? औषधी बिक्रेताले समेत नबुझ्ने गरी लेखिएका त्यस्ता प्रेस्कृप्सन थोरै अध्ययन गरेका नागरिकले के बुझ्छन ? यसबारे तपाईंको ध्यान जानुपर्ने होइन ? 

नेपालमा धेरै मेडिकल कलेज भएकाले त्यहाँ सिकारु डाक्टरसापहरुको पनि खाँचो छैन ।  जाने बुझेका डाक्टरसापहरुले सिकारुहरुलाई जिम्मा लगाएर छाडिदिने गरेको पनि देखिएको र भेटिएको छ । सिकारुले बिरामीको कुन हदसम्मको उपचार गर्न पाउने हो हाम्रो ठूलो जिज्ञासा छ डाक्टरसाप ।  

कोही बिरामीलाई नचिनेको डाक्टरले उपचार गर्दैछन् भन्ने लाग्यो भने प्रमाणपत्र हेर्न पाउने कि नपाउने ? प्रमाणपत्र हेरेपछि मात्र उपचार गर्न दिने दिन टाढा छैन । 

तपार्इंहरुका कमी कमजोरी धेरै समयसम्म बाहिर नआएकै हुन् । सामान्य कमी कमजोरी काम गर्नेका हुन्छन् नै ।

सायद यही भएर नै नेपालका सञ्चारमाध्यमले धेरै त्यस्ता घटनालाई बाहिर ल्याएनन् होला । उपचारमा कार्यरत डाक्टरसापहरुको मनोबल बढाउनु पर्छ भनेर नै सञ्चारमाध्यमले त्यसअनुसारको भूमिका खेलेकै होलान् ।

तर नागरिक सचेत भएका छन् । सहनै नसक्ने कमजोरी भएकै छन् । पछिल्ला समयमा सञ्चारमाध्यममा असाध्यै डरलाग्दा तथ्याँक र यथार्थ विवरण सार्वजानिक भएका छन् ।
 
कुन अस्पतालमा कुन डाक्टरको लापर्बाहीले के भयो भन्ने विषय धेरै लामो छ । प्रत्येक घटनासँग केन्द्रित भएर यहाँ उल्लेख गरिएको छैन ।

आवश्यक पर्दा तथ्य, तथ्याँक सुरक्षित छन् । बहस गरौँला । हरेक नागरिकले असाध्यै राम्रोसँग बुझ्न थालेका छन् । तपाईंहरुको हेलचेक्राईं बढेको अनुभूति भएकै छ । 

अन्त्यमा डाक्टरसाप, तपार्इंहरुले एकपटक गहिरोसँग समीक्षा गर्नुहोस् । के कारणले कमजोरी बढेको छ ? किन अविश्वास बढेको छ ? अब के गर्नु पर्छ ? कमजोर प्रवृत्तिलाई कसरी सुधार गर्ने ? पेशालाई कसरी मर्यादित बनाउने ? यि विषयमा गम्भीर हुनुहोस् । स्वास्थ्य क्षेत्रलाई व्यवसायमुखी भन्दा पनि सेवामुखी बनाउन पहल गरिदिनुस् । हाम्रो अपेक्षा यही हो । धन्यवाद ।

उही तपाईंको,

राधेश्याम खतिवडा, चितवन

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • J b.bogati

    July 26, 2018, 8 a.m.

    तपाई मेडिकल माफिया ले खरिद गरेको लेखक हो।किनकि तपाईं ले हरेक कुरा लाई एकतर्फी रुप मा के सि लाई निचदेखाउने काम गर्नु भएको छ।तपाई लाई गरिब दुवा लागने छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया