नगद र गहना लुट्न महिलाको हत्या गर्ने दुर्इजना प्रहरी हिरासतमा

 साउन ९, २०७५ बुधबार २०:४:२४ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – काभ्रेको पनौती नगरपालिका–७, कि तीलकुमारी देउजाको हत्या गरी नगद तथा गहना लुट्नेहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गएको असार २० गते राति देउजाको हत्या गरी नगद र गहना लुट्ने रामेछाप खाडादेवी गाउँपालिका वडा नम्बर ७ बस्ने राजबहादुर थामी र सिन्धुपाल्चोक सुनखानी–७, का सन्तोष थामीलाई २१ दिनपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको हो । देउजा पनौतीमा भट्टी सञ्चालन गरेर बस्ने गरेको प्रहरीले जनाएको छ । राजबहादुर थामी भने ज्यामीको काम गर्ने र देउजाकै घरमा कोठा भाडामा लिएर बस्ने गरेका थिए । 

प्रहरीका अनुसार घटनाको दिन दुवै जना थामीले देउजासँगै बसेर भट्टीमा रक्सी खाएका थिए । केही समयपछि देउजा सुत्न गइन् । राजबहादुर र सन्तोषले पुनः रक्सी खाँदै देउजालाई हत्या गरेर नगद तथा सुनका गहना लुट्ने योजना बनाएको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा एसपी रविराज खड्काले राजबहादुर र सन्तोषले देउजाको हत्या गरेको पुष्टि गर्नुभयो । हत्या गरेर भाग्दै गरेका राजबहादुर र सन्तोष देउजाकै घरमा भएको मोटरसाइकल लिएर भागेका थिए । 

भाग्दै गरेको अवस्थामा नियमित चेकिङको क्रममा साँगा चौकीले राजबहादुरलाई पक्रन सफल भए पनि सन्तोष भने फरार थिए । सन्तोषलाई पनि महानगरिय वृत बालाजुले पक्राउ गरेपछि बुधबार प्रहरीले पत्रकार सम्मेलन नै गरेर उनीहरुलाई सार्वजनिक गरेको थियो । 

इलाका प्रहरी कार्यालय बनेपा अन्र्तगत मुद्धा चलाइएका दुवैलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धा लगाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख एवं प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।

प्रहरीले राजबहादुर र सन्तोषसहित सुनका गहना, नगद तथा पुराना २ केजी सिक्का पनि सार्वजनिक गरेको थियो । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया