गाेरखामा बन्दै गरेकाे पाेखरीमा डुबेर १३ बाँदर मरे

 फागुन २०, २०७६ मंगलबार १९:१९:४९ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखा नगरपालिका-९, लक्ष्मीबजारकाे खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर १३ वटा बाँदर मरेका छन् । 

दमकलका लागि पानी भर्न निर्माण गर्दै गरेकाे पोखरीमा डुबेर बाँदर मरेका स्थानीयले बताएका छन् । निर्माण हुँदै गरेको पोखरीमा केही दिनअघिको वर्षाका कारण झण्डै आधा मिटर जति पानी जम्मा भएको स्थानीय गणेश थापाले बताउनुभयो । 

'पानी खान एउटा बाँदर पसेको, तर पानीमा डुबेर कराएपछि अरु बाह्रवटा बाँदर पसेर मरेका हुन् । कुकुरले लखेटेपछि भाग्ने क्रममा पोखरीमा पसेको अनुमान गरेका छौँ’ उहाँले भन्नुभयो, ‘पोखरीको भित्री भागमा प्लाष्टर गरिएको रहेछ, चिप्लो भएका कारण डुबेका बाँदर बाहिर निस्किन पनि सकेनछन् ।’ 

स्थानीय बासिन्दाले डुबेर मरेका बाँदरलाई पोखरीबाट बाहिर निकालेका छन् । मरेका बाँदरलाई खाल्डो खनेर गाडिएको अर्का स्थानीय कृष्ण पुडासैनीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया