प्रदेश २ को नाम र राजधानीका लागि मतदान चैत १ गते हुने

 फागुन २०, २०७६ मंगलबार २१:५:४९ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन फागुन २३ गते मतदान हुने भनिएको कार्यक्रम स्थगित गरी चैत १ गतेका लागि तोकिएको छ ।

कार्य सम्पादन समितिको बैठकले फागुन २२ गते प्रदेश सभाको बैठक बसेर २३ गते मतदान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रदेश सभा सचिवालयले सूचना पनि जारी गरियो तर विशेष कारणवश सो कार्यक्रमलाई स्थगित गरेको हो ।

सचिवालयका सचिव रंजित यादवले भन्नुभयो, ‘कार्य सम्पदान समितिले गरेको निर्णय अनुसार सचिवालयकाे सूचना सबै माननीयहरुलाई जानकारी पनि गराइयो तर सूचना जारी भएकै दिन बेलुका त्यसलाई कार्य सम्पादन समितिले विशेष कारणवश कार्यक्रम स्थगित गर्न भनेपछि तोकिएको मिति परिवर्तन गरिएको हो ।’

उहाँले प्रदेश सरकारको आग्रहमा सदनले गरेको तयारीमा अपुग भएको भन्दै २२ गते बोलाइएको बैठक ३० गते १ बजे बस्ने र फागुन २३ गते गोप्य मतदान गर्ने प्रक्रियाको मिति सारेर चैत १ गतेका लागि सूचना जारी गरिएको जानकारी दिनुभयो ।

फागुन ३० गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानी टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराई त्यसको भोलिपल्ट मतदान गराउने सदन सचिवालयले तयारी रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया