डेकेन्द्र थापा प्रकरण : मुख्य आरोपितमध्ये एक पक्राउ परेपछि मुद्दा जाग्यो

 फागुन २२, २०७६ बिहिबार ८:४६:३० | अमर सुनार
unn.prixa.net

दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य चार जना आरोपीमध्ये अरुण भनिने बमबहादुर खड्का पक्राउ परेपछि कर्तव्य ज्यानसम्बन्धी मुद्दा मुल्तवीबाट जागेको छ । ३९ वर्षीय खड्का दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका बासिन्दा हुन् । 

मुख्य आरोपी पक्राउ परेको बखत मुद्दा जगाउन सकिने भन्ने दैलेख जिल्ला अदालतको अघिल्लो फैसलाअनुसार मुद्दा पुनर्जीवित भएको हो । पक्राउ नपरेका अन्य तीन जना आरोपीविरुद्ध समेत मुद्दा पुनर्जीवित भएकाे अदालतका सूचना अधिकारी विनोद आचार्यले बताउनुभयो । 

शान्ति प्रक्रियापछि पनि पक्राउ परिने डरले खड्का लुकीछिपी बस्दै आएका थिए । तर उनलाई कैलाली प्रहरीले भर्खरै पक्राउ गर्‍यो र अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखलाई बुझायो । त्यसपछि गएको मङ्गलबार उनलाई दैलेख जिल्ला अदालतमा पेस गरिएको थियो । 

मङ्गलबारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले खड्कालाई कारागार चलान गर्न आदेश दिनुभयो ।    

२०६१ साउन २७ गते मारिएका पत्रकार थापाको शव गाडिएको ठाउँ नौमूले गाउँपालिका–३ द्वारीबाट चार वर्षपछि कङ्काल निकाली दाहसंस्कार गर्दै २०६५ भदौ १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा नाै जनाविरुद्ध किटानी जाहेरी दिइएको थियो । 

आरोपितमध्येका पाँच जनालाई २०६९ पुस २० गते पक्राउ गरेर प्रहरीले मुद्दा चलायो । जिल्ला अदालतले २०७१ मङ्सिर २१ गते पक्राउ परेका पाँचै जनालाई पत्रकार थापाको शव गाड्नमात्र सघाएको भन्दै बढीमा दुई वर्ष कैद गरेको थियो । 

तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले थुनामा रहेका निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो ।

दुई वर्षको कैद सजाय तोकिएका निरक घर्ती अदालतको फैसला हुँदा एक वर्ष सात महिना एक दिन कैदमा बसिसकेका थिए भने त्यसपछि चार महिना २९ दिन कैदमा बसेर उनी पनि थुनामुक्त भएका थिए ।

जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले हत्या घटनाका मुख्य आरोपितहरु पाँच जना दुल्लू नगरपालिका–६ का अरुण भन्ने बमबहादुर खड्का र केशव खड्का भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछाने फरार रहेको कारण पक्राउ परेका बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो । 

पत्रकार थापालाई नियन्त्रणमा राखेको बेला गरिएको कुटपिटको कारण ज्यान गएको भन्दै घटनाको चार वर्षपछि २०६५ भदौ १२ गते डेकेन्द्रकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो । 

जिल्ला अदालतको फैसलामा २०६९ पुसमा पक्राउ परेकाहरुलाई दिइएको सजाय जायज नभएकाे भन्दै वादी पक्ष र आफूहरुले शव गाड्न मद्दत गरेकै कारण दोषी करार नहुनुपर्ने भनि प्रतिवादीहरूले पुनरावेदन अदालत सुर्खेतमा निवेदन दिएका थिए । तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र कुमारप्रसाद पोखरेलको इजलासले २०७० असार २० गते जिल्लाकै फैसला सदर गरेको थियो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत ररनुभएका पत्रकार थापालाई मुहान मर्मतका लागि सिमेण्ट र निर्माण सामग्री लिएर गइरहेकाे बेला नारायण नगरपालिका–५ भैंसेखोरबाट २०६१ असार १२ गते तत्कालीन भूमिगत नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए । 

अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते दिउँसो पहिलेकाे द्वारी गाविस–१ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाको कारण ज्यान गएको प्रहरी अनुसन्धान र अदालतमा प्रत्यक्षदर्शीहरुले खुलाएका थिए । 

तत्कालीन भूमिगत नेकपा माओवादीले चलाएको सशस्त्र युद्धको चरम उत्कर्षको समयको घटनामा पत्रकार थापा मारिएको घटनाले सर्वत्र आलोचना भएको कारण परिवारलाई शव देखाउन चाहेको थिएन । 

युद्धकालमा शवको खोजी गर्न नसकेका परिवारलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा घटनाको चार वर्षपछि २०६५ साउनमा थापाको शव गाडिएको ठाउँ पत्ता लागेकाे थियाे । त्यसपछि राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासङ्घको सक्रियतामा उत्खनन गरी शवको कङ्काल निकाली परिवारजनले २०६५ साउन १८ गते हिन्दू संस्कारअनुसार दाहसंस्कार गरेका थिए । 

पत्रकार थापाको हत्या गरिएको खबर प्राप्त भएपछि माओवादी पक्षसँग शव माग्दा दिन नचाहेको कारण कुशको शव बनाई २०६१ साउन ३२ गतेदेखि काजक्रिया गरिएको थियो । पत्रकार थापाकी श्रीमती, दुई छोरी र एक छोरा छन् । 

हत्या हुँदा पत्रकार थापा ३३ वर्षको हुनुहुन्थ्यो । राम्रो उद्घोण कला, लोक देउडाका गायक र राजनीतिमा सक्रियतासँगै मानव संसाधन केन्द्र नामक संस्थाका अध्यक्षको हैसियतमा उहाँले समाज सेवा गर्दै आउनुभएको थियो ।

थापाका परिवारलाई न्याय प्राप्तिका लागि राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल पत्रकार महासङ्घ लगायतले सहयाेग गर्दै आइरहेका छन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया