ऐन नबन्दासम्म ‘टुटल ’ र ‘पठाओ’लाई चल्न दिने मन्त्री नेम्वाङको संकेत

 फागुन २८, २०७६ बुधबार १३:४६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तत्कालै टुटल र पठाओ बन्द नहुने संकेत गर्नुभएको छ ।

यातायात व्यवस्था विभागले जुन प्रयोजनको लागि दर्ता भएको हो, त्यही प्रयोजनको लागि मात्रै सवारी साधन चलाउन र त्यो विपरीत गरेको पाइए कारबाही गर्ने सूचना मंगलबार प्रकाशित गरेको छ । तर उज्यालो अनलाइनसँगको कुराकानीमा मन्त्री नेम्वाङले घुमाउरो भाषामा संघीय यातायात ऐन नआउँदासम्म सामान्य निमयनका आधारमा ‘राइड शेयरिङ’ चल्ने बताउनुभयो । 

मन्त्री नेम्वाङले अहिले कानुनले निजी नम्बर प्लेट भएका गाडीले यात्रु ओसार्न प्रतिबन्ध लगाएको र तर केही व्यहारिक कुरा पनि हेर्नुपर्ने बताउनुभयो । 

टुटल र पठाओ लगायतका राइड शेयरिङ कम्पनी तत्कालै बन्द हुन्छन् कि हुँदैनन त ? भन्ने उज्यालो अनलाइनको प्रश्नमा मन्त्री नेम्वाङले भन्नुभयो, ‘मैले अहिले ठ्याक्कै यही हुन्छ भन्न मिल्दैन, अहिले यातायात क्षेत्रको इस्यु भनेको टुटल पठाओ मात्रै होइन, रुट परमिट, दर्ता, नवीकरण लगायतका धेरै इस्यु छन्, अब संघीय यातायात ऐन बन्दैछ, त्यसमा यी सबै कुराको समाधान निकाल्नुपर्छ ।’

मन्त्रीले थप्नुभयो, ‘तत्कालै रोक्ने कुराहरु गर्दा पनि कति व्यवहारिक हुन्छ भनेर हामीले हेर्नुपर्छ । कतिपय कुराहरु हिजो नियम नै नभएको अवस्थामा चलेका थिए भने छिटो छरितो कानुनी व्यवस्था गरेर नियमन गर्नुपर्छ । सरकारले काुनन बनाउन चासो दिएको छ, तत्कालै बन्द गरिहालौं भन्नु भन्दा पनि पछि कतिपय सन्दर्भमा व्यवहारिक कुरा बुझिदिनुपर्छ ।’

आफू मन्त्री भएर आउनेबित्तिकै पठाओ टुटललाई कानुनको दायरामा ल्याउनुपर्छ भनेर जोड दिएको र अहिले संघीय यातायात ऐन ड्राफ्ट भैसकेको अवस्थामा ऐन बनाएर स्थायी रुपले नियमन गर्नुपर्ने मन्त्री मन्त्री नेम्वाङको भनाई छ ।

उहाँले अहिलेसम्म अदालतले ७ वटा आदेश दिएको र ती आदेश थुप्रिएर मात्रै रहेको अवस्थामा कार्यान्वयनको लागि सचिव लगायत सबैलाई निर्देशन दिएको जानकारी दिनुभयो । मन्त्रालयले बनाएका कानुन कार्यान्वयन र अदालतको आदेश कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने पनि बताउनुभयो । 

यातायात व्यवस्था ऐन २०४९ को दफा १२ को उपदफा १ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन’ भन्ने उल्लेख भएअनुसार निजी नम्बर प्लेटका सवारीले भाडा लिएर यात्रु बोक्न पाउँदैनन । 

तर २०४९ सालमा ऐन बन्दा राइड शेयरिङको कल्पना नगरिएकाले सरकारले समय सुहाउँदो कानुन बनाउनुपर्ने आवाज बलियो बन्दै गैरहेको छ । 

तर यो सेवा लोकप्रिय बन्दै गएकाले सरकारले यसलाई तत्कालै बन्द गर्न सकेको छैन । २०७५ सालको माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै टुटल पठाओजस्ता सेवा बन्द नगर्न तर नियमन गर्न निर्देशन दिनुभएको थियो । यातायात व्यवस्था विभागले पटक पटक राइड शेयरिङका नाममा भाडा लिएर यात्रु नबोक्न निजी नम्बर प्लेटका सवारीका नाममा सूचना निकाले पनि चर्को दवावका कारण बन्द गर्न गर्न सकेको छैन । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया