विराटनगरमा विदेशबाट फर्केका दुई जना कोरोनाको आशंकामा धरान ‘रिफर’

अस्पताल प्रवेशद्वारमै स्यानिटाइजरकाे व्यवस्था

 फागुन ३०, २०७६ शुक्रबार १८:९:४१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विदेशबाट आएका दुई जनामा कोरोनाको जस्तो लक्षण देखिएपछि विराटनगरकाे काेशी अस्पतालले उपचारका लागि धरान पठाएको छ ।

शुक्रबार कोशी अस्पतालमा कोरोनाको संक्रमण र यसबाट बच्नको लागि अपनाइएका सावधानीका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा कोशी अस्पतालकी मेडिकल सुपरिन्टेण्डेन्ट डा. संगीता मिश्रले कोरोनाबाट संक्रमितहरु नदेखिएको भए पनि दुईजनामा त्यस्तै खालको लक्षण देखिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिनुभयो ।

दुई दिनअघि मात्र विदेशबाट आएका दुई व्यक्तिमा कोरोनाको शंका लागेपछि अस्पतालले धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा पठाएएको मिश्रले जानकारी दिनुभयो । उनीहरुको खकार परीक्षणको लागि नमुना काठमाण्डौ पठाउनु पर्ने भएकोले ४८ घण्टापछि त्यसको रिपोर्ट आउने मिश्रको भनाइ थियाे ।

विदेशबाट आएकामा ज्वरो, रुघाखोकीको पनि लक्षण देखिएपछि शंका लागेर आइसोलेशन वार्डमा रेफर गरेको तर कोरोना नै हो भन्ने पुष्टि भने नभएको अस्पतालले जनाएकाे छ। रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था नरहेको अस्पताल स्राेतकाे भनाइ छ ।

अस्पतालले सुरक्षाका लागि स्यानिटाइजर तथा मास्क पनि वितरण गर्न थालेको छ । कर्मचारी नै असुरक्षित हुने डरले अस्पताल प्रवेश गर्दादेखि नै स्यानिटाइजरकाे व्यवस्था गरिएको मिश्रले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया