बजारमा पेट्रेलियम पदार्थको अभाव छैन : निगम

 चैत ४, २०७६ मंगलबार २०:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको अभाव नरहेको बताएको छ । 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेका बेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भए पनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले मंगलबार काठमाण्डौमा आयोजित एक साक्षात्कारमा पेट्रोलियम पदार्थको माग अत्याधिक बढेको तर आयात र वितरणमा कुनै समस्या नरहेको बताउनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पेट्रोलियम पदार्थको वितगरमा निरन्तर अनुगमन भइरहेको बताउनुभयो । उहाँले ग्यासको वितरण प्रणालीमा भने केही समस्या देखिएकाले बजारमा अभाव देखिएको बताउनुभयो ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले बजारमा पेट्रोलियम पदार्थको ढुवानीमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले ७ वटै नाकाबाट पेट्रोल आयात भइरहेको र निगमले उपलब्ध गराए अनुसार पेट्रोलियम पदार्थ बजारमा पुर्‍याउन कुनै समस्या नरहेको जानकारी दिनुभयाे ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले अहिले सम्म ग्यास आपूर्तिमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले दैनिक रुपमा १ लाख सिलिण्डर बिक्री वितरण भइरहेको बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँग पछिल्लो समय बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । तर आयल निगम र सम्बद्ध व्यवसायीहरुले भने बजारमा कुनै कृतिम अभाव नभइ माग बढेकाले समस्या देखिएको दावी गरेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Suyog Shrestha

    March 17, 2020, 9:07 p.m.

    नेपाल आयल निगमका प्रबन्ध निर्देशककाे नाम सुरेन्द्र कुमार पौडेल हुनुपर्नेमा सुशिल कुमार पौडेल भएकाे रहेछ । कृपया यस्ता गल्तीहरू पुनः नदाेहाेर्याउनु हाेला । धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया