प्रदेश पाँचका रुपन्देही , बाँके र दाङमा आइसोलेसन अस्पताल बन्ने : लक डाउन गर्ने अधिकार सीडीओ लाई

 चैत ८, २०७६ शनिबार १२:३३:२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नम्बर पाँचको सरकारले रुपन्देही, बाँके र दाङमा आइसोलेशन अस्पताल बनाउने निर्णय गरेको छ ।

कोभिड १९ को पूर्व तयारी , प्रतिकार्य र नियन्त्रणका लागि बाँकेमा २ रुपन्देहीमा ३ र दाङमा एउटा अस्पताल बनाउने निर्णय प्रदेश सरकारले गरेको हो । अस्पताल बनाउनका लागि बुटवलको धागो कारखाना,भैरहवाको भिम अस्पताल,देवदहमा रहेको देवदह बहुमुखी क्याम्पस रुपन्देहीका लागि तोकिएको छ ।

यी अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी मेडिकल कलेज र निजी अस्पतालबाट जनशक्ति व्यवस्थापन गरिने छ ।

बाँकेमा अर्बुद रोग अस्पताल र नेपाल प्रहरीको अस्पताल तथा दाङको बेलझुण्डीमा रहेको आर्युर्वेद अस्पताल तोकिएका छन् । यी अस्पतालमा भेरी अस्पताल , बाँके जिल्लामा रहेका मेडिकल कलेज तथा राप्ती प्रादेशीक अस्पताल र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाट जनसक्ती व्यबस्थापन गरिने छ ।

आइसोलेसन तथा उपचार अस्पताल निर्माणको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्ने बताइएको छ । कोरोना रोकथाम तथा उपचारको लागि र्‍यापिड रेस्पोन्स टिम गठन गरेर काम गरिरहेको बताउदै प्रदेश सरकारले अबस्था बिश्लेषणको जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले सामाजिक बिकास मन्त्री सुर्दशन बरालको नेतृत्वमा र्‍यापिड रेन्पोन्स टिम समेत बनाएको छ । जसमा मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख तथा लुम्बिनी प्रादेशिक र भिम अस्पताल भैरहवाका मेडिकल सुपरीण्टेण्डेण्ट सदस्य राखिएको छ ।

प्रदेश सरकारले कोरोना संक्रमण देखिए अवस्था विश्लेषण गरेर सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कुनै खास क्षेत्रलाई लकडाउन गर्न सक्नेगरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिएको छ ।

कोरोनाको जोखिम बढेसँगै बजारमा कालाेबजारी बढेको र कृत्रिम अभाव सिर्जना गरिएको भन्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजारको नियमित अनुगमन गर्न निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने भारत तथा अन्य देशका नागरिकलाई अत्यावश्यक काम बाहेक नेपाल प्रवेशमा रोक लगाउने र नेपाल भित्रने गाडीलाई ‘मेडिकल ट्रिटमेण्ट’ गरेर मात्रै आउने व्यवस्था प्रदेश सरकारले गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया