प्रहरीकाे आग्रह : काेराेना भाइरसका बारेमा चलेका हल्लाकाे पछि नलाग्नुस्

 चैत ९, २०७६ आइतबार १०:२१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल प्रहरीले कोरोना भाइरस (काेभिड १९) का बारेमा चलेका हल्लामा विश्वास नगर्न आग्रह गरेको छ ।

नेपालमा पनि कोरोना देखिएको भन्ने गलत श्रव्य सामग्री अर्थात् अडियो बनाइ सामाजिक सञ्जालमा राख्ने एक जनालाई पक्राउ गरिएको र अरुबारे अनुसन्धान भइरहेकाले यस्ता गलत कुरामा विश्वास नगर्न प्रहरीले आग्रह गरेको हो ।

नेपालमा कोरोनाका कारण केही व्यक्तिकाे ज्यान गएको दाबी गर्दै अडियो बनाउने, रामेछाप घर भइ भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीले गलत हल्लाका पछि नलाग्न र सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न आग्रह समेत गरेको छ । पक्राउ परेका व्यक्ति दर्ता नै नगरिएको ‘झोर्ले न्युज डट कम’का सञ्चालन भएको पाइएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । यस्तै अन्य अफवाह फैलाउनेहरुको पनि खोजी भइरहेको र गलत सूचना सार्वजनिक गर्नेलाई कारबाही गर्ने जनाएको छ ।

यसैबीच विभिन्न देशबाट शनिबार नेपाल फर्किएका ६२ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

दुबई, कतार लगायतका विन्न देशबाट ६२ जना नेपाली स्वदेश आएका हुन् । उनीहरुलाई विमानस्थलबाटै भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा पठाएको हो । आइतबार उनीहरुको नमुना परीक्षणका लागि स्वाब सङ्कलन गरिने जनाएको छ । उनीहरूलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शदीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाण्डाै लैजाने भएको छ ।

स्वेच्छाले देश फर्किएका उनीहरू क्वारेन्टाइनमा रहँदाको खर्च आफैले गर्नेछन् । सरकारले युरोपका सबै देश, पश्चिम एसिया लगायत खाडी देश, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई यही चैत ७ गतेदेखि आउँदाे वैशाख ३ गतेसम्मका लागि नेपाल आउन प्रतिबन्ध लगाएको थियो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया