काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

 चैत ९, २०७६ आइतबार १२:१२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ ।

साेमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगन हमालले साेमबारदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहार गर्न पाइने भए पनि काठमाण्डौबाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताउनुभयो । यो नियम उपत्यकाका तीन शहर बाहेक सबैतिर लागु हुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘अब पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोकिनेछ । यसको अर्थ सीमा जोडिएका जिल्लामा पनि केही समयमा लागि गाडी चलाउन पाइने छैन ।’

महानिर्देशक हमालका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उहाँले बताउनुभयो । 

यसबारेमा आइतबार ४ बजे बैठक बसेर थप स्पष्ट पारिने बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया