गाउँ फर्कने बढे : सोलुका बाँझा खेतबारी जाेतिने आशा

 चैत ९, २०७६ आइतबार १४:४३:४७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : कोरोना भाइरसको सतर्कतास्वरुप विद्यालय, क्याम्पस तथा कार्यालयहरु बन्द भएसँगै सोलुखुम्बुका गाउँ बस्तीमा चहलपहल बढेको छ ।

केही दिन अघिसम्म सुनसान देखिएको सोताङ क्षेत्रमा चहलपहल बाक्लो भएको स्थानीय डिल्ली बहादुर राईले बताउनुभयो । तराई तथा शहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइ सरेकाहरुसमेत हिजाेआज गाउँघरमा भेटिन थालेको महाकुलुङ गाउँपालिकाका आसमान कुलुङको भनाइ छ ।

चाडपर्वमा नआएकाहरु पनि गाउँ फर्के

दशैँ तिहारजस्ता चाडपर्वले समेत गाउँ नफर्काएकाहरुलाई पनि कोरोना भाईरसको त्रासले गाउँ आउन बाध्य बनाएको नेचा सल्यान गाउँपालिकाका सुमन बस्नेतले बताउनुभयो । गाउँघरमा जनशक्ति नभएपछि कैयौँ रोपनी खेतबारी बाँझो भएको भए पनि युवा जनशक्ति गाउँ फर्किएसँगै यस वर्ष ती बाँझा खेतबारीमा अन्न बाली लगाउन सकिने बुढापाकाहरुको विश्वास छ ।

कोराेनाका कारण विश्वकै आर्थिक क्षेत्रमा उल्लेखनीय गिरावट आउने आकलन गरिए पनि नेपालका ग्रामीण क्षेत्रमा यसको प्रभाव न्यून रहेको लिखुपिके गाउँपालिकाका शिव बहादुर बस्नेतको भनाइ छ । खाना पकाउन दाउरा, भान्छामा मकैको च्याँख्ला तथा गाउँमै फलेका तरकारी पाक्ने भएकाले मुख्य बजारमा जस्तो समस्या गाउँमा नहुने थुलुङ दुधकोशी गाउँपालिकाका अम्मरबहादुर विश्वकर्माले बताउनुभयो ।

सडक मार्गबाट एक हप्तामा झन्डै पाँच हजार जना सोलुखुम्बु भित्रिए 

एक हप्तामा जिल्ला भित्रने मुख्य सडक मार्गबाट ४ सय २७ ओटा जिप र ३१ ओटा बसमार्फत ४ हजार ७ सय ९७ जना सोलुखुम्बु भित्रिएको ट्राफिक प्रहरी कार्यालय साेलुखुम्बु्ले जनाएकाे छ। 

सार्वजनिक गाडीको अभिलेख प्रहरीसँग भए पनि निजी गाडीबाट पनि ठूलो संख्यामा यात्रुहरु भित्रिएको प्रहरीको भनाइ छ । जिल्लाबाट बाहिरिनेको संख्या कम र भित्रिनेको संख्या अत्याधिक रहेको यातयात व्यवसायीले बताएका छन् ।

यस्तै धेरै संख्यामा हवाई मार्गबाट पनि जिल्ला भित्रिएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया