नगरपालिका फोरमले कोरोनाविरुद्ध महाअभियान चलाउने

 चैत १०, २०७६ सोमबार १४:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर–कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोरोनाविरुद्धको महाअभियान सञ्चालन गर्ने भएको छ । 

उपत्यकाभित्रका दुई महानगर र १६ नगरपालिका गरी १८ वटा पालिकाहरुको संयुक्त संस्थाको रुपमा रहेको फोरमको भक्तपुरमा बसेको आकस्मिक बैठकले कोरोनाविरुद्धको महाअभियान सञ्चालन गर्ने निर्णयसहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको छ । 

बैठकका निर्णय एवं साझा अवधारणा सोमबार सार्वजनिक गर्दै फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसविरुद्ध उपत्यकाका सबै नगरपालिकाले एकजुट भएर कार्य गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशमा आइपरेको संकटको घडीमा उपत्यकाका १८ वटै महानगर तथा नगरपालिकाहरुले एकजुट भएर कोरोना भाइरसविरुद्धको महाअभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ । यसका लागि सबै नगरपालिकाले जिम्मेवारी बहन गर्नेछौँ ।”

फोरमले प्रत्येक नगरपालिकाले आफ्ना नगरपालिका क्षेत्रका नागरिकसम्म पुग्नेगरि कोरोनाबाट बच्ने उपाय सहितका सकारात्मक सन्देशहरु प्रवाह गर्ने भएका छन् । 

त्यसैगरी कोरोना सङ्क्रमणको आशङ्का भएका बिरामीको लागि निगरानी कक्ष अर्थात क्वारेन्टाइनको व्यवस्था नगरपालिकाहरुले गर्ने भएका छन् । 

यसका लागि आआफ्नो नगरपालिका क्षेत्रभित्र रहेका स्कूल, कलेज, होटल, गेष्ट हाउस र सामुदायिक भवनलगायतलाई अस्थायी क्वारेन्टाइन बनाइने भएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया