कोरोना र एकान्त: मानसिक स्वास्थ्य कसरी ठिक राख्ने ?

 चैत ११, २०७६ मंगलबार ९:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –अबको एक हप्ताका लागि नेपाललाई ‘लकडाउन’ गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन सरकारले आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन गरिएको यो कदममा साथ दिनु सबै नागरिकको कर्तव्य हो । 

थुप्रै समस्याहरु आउँछन् । तर सङ्क्रमण फैलिएको अवस्थामा हुने जोखिम डरलाग्दो हुने भएकोले यस्तो बेला टार्न सकिने जति सबै समस्या टारेर घरमै बस्नु बुद्धिमानी हो । यतिबेला सङ्क्रमित थपिएको, खानेकुरा नपाएको, उपचार नपाएकोजस्ता थुप्रै खबरहरु पनि आउँछन् । त्यस्ता खबर र घरमै बस्नु पर्दाका समस्या, अभाव र अब के हुन्छ भन्ने डरले धेरै मानिसलाई चिन्तित बनाउँछ । 

यस्तो चिन्ताले मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । मानसिक समस्या भोगिरहेकाहरुमा त यसले झनै बढी जोखिम बढाउँछ । यस्तो बेलामा मानसिक स्वास्थ्यको हेरविचार गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सल्लाह दिएको छ । ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेका निकी लिड्बेटरले अनियन्त्रित हुने र अनिश्चितता खेप्न नसकिने हो कि भन्ने डरले मानिसको मानसिक समस्यालाई अझै गम्भीर बनाइदिन सक्ने बताउनुभएको बीबीसीले जनाएको छ । 

यस्तो बेला आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । केही महत्वपूर्ण कुराहरु ख्याल गर्ने हो भने मानसिक स्वास्थ्यका कारण हुने ठूलो जोखिम घटाउन सकिने डब्लुएचओले जनाएको छ । 

खबरहरुलाई सीमित पार्नुस् 

आफूले सुनिरहेको, पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईंलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुपर्छ । विश्वासिला सञ्चारमाध्ययम मात्र सुन्ने, पढ्ने वा हेर्ने गर्नुपर्छ । नेपालमा पनि पछिल्लो समय विभिन्न अनलाइनले नकारात्मक समाचार प्रवाह गरिरहेका छन् । तर नेपालमा विश्वासिला सञ्चारमाध्यम पनि धेरै छन् । तपाईं आफैँ छान्नुस् र सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू पनि नियमित हेर्ने गर्नुस् । 

समाजिक सञ्जालबाट टाढै बस्नुहोस् 

अहिले धेरैलाई सामाजिक सञ्जालमा आइरहेका खबरहरुले पीडा थपिरहेको देखिन्छ । धेरैले अनर्गल जानकारी र प्रचारलाई पत्याइदिनाले समस्या झनै थपिएको पाइन्छ । यस्तो बेलामा सकेसम्म सामाजिक सञ्जालमा आएका कुरा नपढ्न वा नहेर्न मनोविज्ञहरुले सुझाव दिएका छन् । ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री राखिरहेका आइडीहरु पछ्याउन छाडिदिनुस् । सामाजिक सञ्जालबाट टाढै बसेमा मानसिक शान्ति पाउन सकिने धेरै उदाहरणहरु रहेको बीबीसीले उल्लेख गरेको छ । 

नियमित हात धुनुस् 

विश्व स्वास्थ्य संगठनले बारम्बार हात धुनको लागि आग्रह गर्दै आएको छ । तर मानसिक स्वास्थ्यमा समस्या भएकाहरुलाई बारम्बार हात धुन झर्को मान्नुपर्ने अवस्था आउन सक्ने भएकोले अवस्था हेरेर सुरक्षाका उपायहरु अपनाउनुपर्ने हुन्छ । 

एक्लै नबस्नुस्  

यो बेला क्वारेन्टाइनमा बस्ने हो । तर मानसिक समस्या भएका तथा सम्भावित जोखिम भएकाहरु एक्लै बस्नु हुँदैन । घरमा निश्चित दूरी कायम गरेर बस्ने, रमाइला पुस्तकहरु पढ्ने, घरपरिवारको बारेमा कुराकानी गर्ने, राम्रा चलचित्र हेर्ने, घरभित्रै खेल्नेजस्ता काम गरेमा मानसिक स्वास्थ्यमा असर कम पर्ने मनोविज्ञहरुले सुझाव दिएका छन् । 
आउँदा दिनमा धेरै मानिसहरू एक्लै बस्ने अवस्थामा पुग्न सक्ने भएकाले आफूलाई मन पर्ने र माया गर्ने मानिससँग टेलिफोन तथा सञ्चारका अन्य माध्ययमबाट कुराकानी गर्नु उत्तम हुन्छ । 
एकान्तवास गर्नुपर्ने अवस्थामा पनि कुनै दैनिकी बनाएर त्यसैअनुसार चल्ने गर्नुहोस् । प्रत्येक दिनमा विविधता होस् भन्ने प्रयास गर्नुपर्छ । अलि लामो समय एक्लै बस्नुपर्ने भएमा घरमै पनि यो समयलाई उत्पादनशील बनाउनेतर्फ ध्यान दिनुपर्छ । तपाईंले आफूले गर्नुपर्ने कामको सूची बनाउन सक्नुहुन्छ । जस्तो आफूले लामो समयदेखि पढ्छु भनेर राखेको पुस्तक पढेर सिध्याउन सक्नुहुन्छ । तर आफूलाई धपेडी हुने काम गर्न नहुने मनोविज्ञहरुले सुझाव दिएका छन् । माइन्ड नामक मानसिक स्वास्थ्य संस्थाले यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाव दिएको बीबीसीले जनाएको छ ।  

एङ्जाईटी यूकेले चिन्ता हटाउन दिएका सुझावहरु: 

स्वीकारः मस्तिष्कमा अनिश्चितता आउनेबित्तिकै त्यसलाई वास्तविकता ठानेर स्वीकार्नुहोस्
विश्रामः तपाईंले सधैँ गर्नेजस्तो व्यवहार नगर्नुहोस् । कुनै प्रतिक्रिया नजनाउनुहोस् । विश्राम लिनुहोस् र आरामले सास फेर्नुहोस् 
नबहकिनुहोस्: सोचाइहरू वास्तविकता होइनन्, त्यसैले नबहकिनुहोस् ।
परित्याग: सोचाइ र अनुभूति जसरी आउँछन् त्यसरी नै जान्छन् । तपाईंले केही गर्नै पर्दैन । ती आफैँ आकाशमा बादल वा पानीका फोकाजस्तै हराउँछन्
वर्तमानः अहिलेको क्षणमा रमाउनुहोस् । यो क्षणमा सबै राम्रै भइरहेको छ । आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस् । आफ्नो धरातलतिर ध्यान दिनुहोस् । वरिपरिको वास्तविकता हेर्नुहोस्, सुन्नुहोस, सुँघ्नुहोस् र तिनलाई बुझ्नुहोस् । त्यसपछि आफ्नो ध्यान अर्कोतिर मोड्नुहोस् र आफूले के गर्नुपर्छ र के गर्दै हुनुहुन्थ्यो भनेर विचार गर्नुहोस् । वर्तमानलाई आत्मसात गरेर चिन्ता हटाउनुहोस् । ध्यानपूर्वक अरू केही गर्नुपर्छ कि भनेर विचार गर्नुहोस् ।
 

(डब्लुएचओ र बीबीसीलगायतका समाचार स्रोतमा आधारित)  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया