जीवनको भरोसा आखिर गाउँ नै रहेछ

 चैत ११, २०७६ मंगलबार १९:१६:२६ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौ–बिहान ६ बजे निदाइरहेकै थिए । फोन आयो । निन्द्रामै फोन उठाएँ । उताबाट आवाज आयो, ‘ल है हामी त साफे पुग्यौँ ।’ उसको बोली सुन्दै थाहा पाइहाले गाउँकै भाइ रहेछ जो काठमाण्डौँमा बसेर पढिरहेको थियो । विद्यालयको बिदा हुने बित्तिकै गाउँ फर्केको । त्योभन्दा पनि कोरोनाबाट ज्यान जोगाउन गाउँ फर्केको ।

उसले मक्ख हुँदै भन्यो, ‘ल दिदी, तपाईंहरु त्यता राम्रोसँग बस्नुस् । गाउँ गइहालौँ भनेको सुन्नुभएन क्यारे ।’ उ अछाम पुग्ने एक्लो थिएन । उसँगै गाउँकै २५ जनाभन्दा बढी थिए । 

फेरि उतैबाट भन्यो, ‘दिदी, काठमाण्डौमा त कोरोना देखियो रे । अब त झनै डर पो भयो । धन्न हामी गाउँ फर्कियौँ ।’ 
उसको कुरा सुन्दा लाग्यो कि मानौँ हामी यहाँ कोराना सङ्क्रमित भइसक्यौँ । मैले सोधे, ‘हैन पुग्यौ चाहिँ कसरी तिमी ? हिजो लामो दूरीको यातायात बन्द थियो । आज बिहानैदेखि ‘लकडाउन’ भइसकेको छ ?’

‘हैन दिदी, हिजो बिहानै धनगढी पुगियो । आज ‘लकडाउन’ हुने थाहा पाएपछि राति नै गाडी ‘रिजर्भ’ गरेर रातारात आइयो ।’ उसले भन्यो ।  
काठमाण्डौमा बस्ने धेरै जना गाउँ फर्केका छन् । दशैँतिहारमा पनि आमाबुवालार्ई यतै बोलाएर गाउँ नजानेहरु अहिले गाउँ फर्केका छन् । काठमाण्डौ छाडेर गाउँ जानेको लर्को देख्दा मलाई लाग्यो, ‘आखिर गाउँघर नै त रहेछ जीवनको भरोसा ।’

अहिले गाउँमा बसेर पढ्ने निकै कम भेटिन्छन् । एसईईसम्म गाउँमै बसेर पढेपनि ऋण जोहो गरेर एसईईपछि सहर नै पस्ने गर्दछन् । सबैले गाउँ छोडेको देख्दा गाउँमै बसेर पढ्नेहरुका लागि लाग्दो हो आफू कस्तो अभागी ! 

सबै साथीहरु सहर पस्दा कतिलाई पढ्न मन नलागेर भारत पसेको उदाहरण मेरै गाउँघरमा थुप्रै भेटिन्छन् । उनीहरु अहिले पनि भारतमा मजदुरी गरिरहेका छन् । मेरै गाउँको कुरा गर्ने हो भने युवाहरु कोही छैनन् । कोही खाडी, कोही भारत त कोही सहरबजारमा छन् । 
गाउँ युवाविहीन भइरहेको बेला अहिले युवाहरु धमाधम गाउँ फर्कदा गाउँलेहरुलाई लाग्दो हो दशैँ आएजस्तो । किनकी गाउँमा युवाहरु त्यतिबेला फर्कन्छन्, जब दशैँ र तिहार आउँछ । 

मेरो गाउँकै एकजना दाइ रोमानिया जान काठमाण्डौ आउनुभएको थियो । भिसा पनि आइसकेको थियो । तर उहाँ पनि गाउँ नै फर्किनुभयो । भन्नुहुन्छ, ‘अब त गाउँमै खेती लगाएर बस्छु ।’ 

सबै गाउँ फर्केको देख्दा हामी नआएकोमा बज्यै र बुवा निकै आत्तिनुभएको छ । घण्टैपिच्छे फोन गर्नुहुन्छ किन घर नआएको भनेर । उहाँहरु आत्तिनु पनि स्वभाविक हो । किनकी सबैजना गाउँ फर्किसके ।

मलाई अनौठो लाग्यो । म त विदेश जान्छु, टन्न कमाउँछु, अनि काठमाण्डौतिरै दुई–तीन आना भएपनि जग्गा किनेर बस्छु, गाउँमा त बसिदैन भन्नेहरु जो थिए उनीहरु नै अहिले ज्यान जोगाउन गाउँ पसे । 

सहरबजारका मात्रै हैन भारत गएकाहरु पनि धमाधम गाउँ फर्के । परिवारसहित मजदुरी गर्न गएकाहरु आफ्ना भत्केका घरहरु देख्दा उनीहरुको मनमा कस्तो भयो होला !

यसो हेर्दा त मलाई कोरानालाई धन्यवाद दिन मन लाग्यो । जसले गाउँको महत्त्व बुझाइदियो ।
मैले यसो भनिरहदा यो कस्तो मुर्ख केटी कोरोनाले गर्दा आज विश्व शोकमा डुबेको बेला यसले कोरोनालाई धन्यवाद दिइरहेको भन्नुहोला । यसमा म पनि दुःखी छु । यस्तो आपत् कहिल्यै नपरोस् । तर मैले गाउँ फर्केकाहरुलाई देखेरमात्रै भनेकी हुँ ।

दुःख लाग्छ गाउँ सम्झदा । जहाँ लटरम्म धान, गहुँ फल्ने खेतबारीहरु जंगल बनेका छन् । हेर्दै दरबारजस्ता देखिने घरहरु भत्केका छन् । मर्दाका मलामी, जिउँदाका जन्ती जाने युवाहरु गाउँमा खोज्दा भेटिँदैनन् । 

गाउँको युवाशक्ति खाडी नपुगेको भए, गाउँको युवाशक्ति भारत नपसेको भए, धान गहुँ फल्ने जमिन बाँझै नरहेको भए आज हाम्रो गाउँ कस्तो हुँदो हो ! हामी कस्ता हुँदा हौँ ! गाउँको मुहार कस्तो हुँदो हो ! 

हामी जता बसेपनि, जति धनी भएपनि, जस्तो महल बनाएपनि आखिर ज्यान त गाउँमै जोगिदो रहेछ नि त । आखिर आशा त गाउँकै हुँदो रहेछ नि त । गाउँका मान्छेलाई पाखे भन्नेहरु पनि आपत् पर्दा त गाउँ नै पस्दा रहेछन् नि त । यो कोरोनाले देखाइदियो गाउँ के हो । 

अहिले काठमाण्डौ हेर्दा उराठ लाग्छ । घर सुनसान, सडक सुनसान ।  दिनहुँ मान्छेको हुलमा हिड्ने बानी परेको, दिनहुँ ठेलमठेल गाडीमा उभिएर यात्रा गरेको मजस्तोलाई यसरी सुनसान कोठाभित्र एक्लै बस्न गाह्रो हुने रहेछ । हुन त मान्छेहरुको भिडमा पनि यात्रा त एक्लो नै हुन्थ्यो । तर आज साँच्चै एक्लो भान भएको छ । 

उराइठो चैतको महिना बहुर्याउन्या फागु
काठमाण्डौ निस्याइलो भइगयो अब कै ठाउँ लागु

यो देउडा गीतले हजारौं शब्दको उत्तर दिएको छ । जुन गीत बनमा न्याउली चरीको आवाजलाई चुनौति दिँदै चैतका उराठलाग्दा दिनहरुमा लेकबेसी गर्दा, दाउरा घाँस गर्दा ठाडी भाकामा गाउथेँ ।

आज यस्तै गीत गाइरहेछु । कोठाभित्र, मनमनै । 
 

अन्तिम अपडेट: साउन १३, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

5 Comments

  • Ravindra

    April 14, 2020, 1:33 a.m.

    मन छोयो दिदिको यो शब्द भावले

  •  0 Reply
  • Hem Magar

    March 27, 2020, 12:20 p.m.

    उहाँ को लेख एकदम मन छुने लाग्यो अहिले को परिबेश अनुशार धन्यवाद

  •  0 Reply
  • सुबास दाहाल

    March 25, 2020, 1:35 p.m.

    तपाईंले यो समयलाई जुन रूप ले लिएर एउटा सानो सृजना लेख्नु भयो यस लाई म हिर्दय देखि नै आभार व्यक्त गर्न चाहन्छु। खाली समय भनेको केही सिक्न य सिकाएन कोलागि प्रयोग गर्नु पर्ने हो। जुन कुरा आज तपाईं ले सिकाउनु भयो म कैलै भुल्ने छैन। धन्यवाद। अनि यो पोस्ट म सम्म ल्याई पुर्याइने व्यक्ति लाई पनि धन्यवाद भन्न चाहन्छु।

  •  0 Reply
  • Bipin khadka

    March 24, 2020, 11:42 p.m.

    धेरै राम्राे

  •  0 Reply
  • मिन ब कुवँर

    March 24, 2020, 9:23 p.m.

    इन्द्रसरा जी बास्तविकता यही हो हामीले गाऊलाई सधै हेलागर्यौ गाऊ ऊजाडबनायौ , श्रोत लिएर बाहिर लगानि हुन्छ र जिबनभर नदेखिऐका मान्छेहरु बुढेसकाल मा गाऊ मै आएर मृत्यु वरण गरि रहेका यथार्थता नै हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया