‘लकडाउन’मा विज्ञको सुझावः प्रविधिको सदुपयोग गरौँ, पुर्खाको ज्ञान बाँडौँ

 चैत १७, २०७६ सोमबार १७:१९:१५ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - घरभित्रै बस्नुपरेको यो बेलामा सबैलाई उकुसमुकुस भएको छ । अरुबेला नियमित स्कुल जाने विद्यार्थी पनि अहिले घरमा नै छन् । कक्षा ९ सम्मका विद्यार्थीको परीक्षा सकिएको छ । तर माध्यमिक शिक्षा परीक्षा (एसईई) भने स्थगित भएको छ । एसईईसहित विश्वविद्यालय तहका परीक्षा पनि रोकिएका छन् । 
कोरोना सङ्क्रमणको जोखिमको कारण अरु गतिविधिसहित शैक्षिक गतिविधि पनि ठप्प छन् । देश नै ‘लकडाउन’ हुँदा घरमै बस्नुपर्ने यो बेला स्कुले बालबालिकालाई अभिभावक र परिवारका सदस्यले विशेष ख्याल राख्नुपर्ने विज्ञहरुको सुझाव छ ।

मनोविद् गङ्गा पाठकका अनुसार कोरोना सङ्क्रमणको जोखिमप्रति सचेत भएजस्तै यति बेला बालबालिकाको मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्छ । बालबालिकालाई तनाव हुन दिनुहुँदैन । उनीहरुको मन, मस्तिष्कलाई अनावश्यक विचारमा बहकिन दिनुहुँदैन । त्यसका लागि अभिभावक बढी जिम्मेवार हुनुपर्छ । 

आफ्ना बच्चासँग बसेर उनीहरुको पढाइलाई निरन्तरता दिन सकिन्छ । पढाइमा निरन्तरता दिँदा मनोरञ्जनलाई बिर्सन नहुने मनोविज्ञ पाठकको भनाइ छ । अरुबेला परिवारका सदस्य कमै भेटघाट हुने सहरबजारमा अहिले सबैजना एकैसाथ रहेकाले बालबालिकासँग बस्ने, रमाउने र खेल्ने अवसर छ ।

पाठक भन्नुहुन्छ, ‘यति बेला बच्चालाई एकातिर राखेर अभिभावक अर्काेतिर बस्ने होइन । बालबालिकालाई मोबाइल दिएर त्यसैमा भुल्न लगाउने पनि होइन।’ 

यो ‘लकडाउन’को बेला बालबालिकाको सिकाइलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ । बालबालिकालाई एकातिर मोबाइल दिएर अनि अर्कोतिर आफू पनि मोबाइल लिएर नबस्न मनोविज्ञ पाठक अभिभावकहरुलाई आग्रह गर्नुहुन्छ ।

त्यस्तै शिक्षाविद् विद्यानाथ कोइराला बालबालिका र अभिभावक सँगसँगै भएको यो समयलाई अवसरको रुपमा सदुपयोग गर्न सकिने बताउनुहुन्छ । मुख्य चार विकल्प उल्लेख गर्दै उहाँले यीमध्ये जे सहज हुन्छ त्यसलाई अवलम्बन गर्न सकिने बताउनुभयो । १) प्रविधिको प्रयोग, २) सञ्चारका साधनको उपयोग, ३) जेष्ठ नागरिक र अभिभावकले अनुभव साट्ने र ४) शिक्षकको भूमिकालाई बढाउने । 

शिक्षाविद् कोइरालाका अनुसार घरमै बसेपनि विकल्पको रुपमा प्रविधिलाई सदुपयोग गर्न सकिन्छ । गाउँघरमा प्रविधिको सहज पहुँच नभए अरु विकल्प प्रयोग गर्न सकिन्छ । तर सहरबजारमा इन्टरनेटबाट सिकाइलाई निरन्तरता दिन सकिन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हामी कोठाभित्रै भएपनि इन्टरनेटसँग छौँ । त्यसैले यसको भरपुर उपयोग गरौँ ।’ प्रविधि नपुगेका ठाउँमा सञ्चारका अन्य साधन रेडियो र टेलिभिजन पुगेका छन् । रेडियो र टेलिभिजनबाट विद्यार्थीका लागि जानकारीमूलक सन्देशहरु दिन सकिने उहाँको भनाइ छ ।

घरमै बसेर रेडियो सुन्ने वा टेलिभिजन हेर्ने बालबालिकाका लागि सञ्चार माध्यमले प्रसारण गर्ने सामग्री नै सिकाइको माध्यम हुनसक्छ । प्रसारण हुने सामग्री शिक्षा र चेतना तथा बालबालिका केन्द्रित भने हुनुपर्छ । ठूलाबडाले ज्ञान तथा अनुभव साट्नु अर्को उपाय हो । घरमा रहेका जेष्ठ सदस्यहरुजस्तै हजुरबुबा र हजुरआमाले आफ्ना अनुभव र भोगाइलाई बाँड्न सक्नुहुन्छ । पुर्खाले भोगेका वा यस्तै कथाका माध्यमबाट सकारात्मक ज्ञान दिन सकिन्छ । 

अभिभावकले दैनिक गर्ने काममा बालबालिकालाई सहभागी बनाउन सकिन्छ । कोइरालाका अनुसार चामलबाट भात कसरी बन्छ, मःमः बनाउने तरिका के हो जस्ता विषयमा व्यवहारिक ज्ञान सिकाउने र बेलुका नोट गर्न लगाउने हो भने निकै प्रभावकारी हुन्छ । घरको सफाइ होस् या गाउँघरमा हुने दैनिक काममा बालबालिकालाई सहभागी गराउने र अभिभावकहरुले उनीहरुलाई हरेक विषयमा प्रस्टसँग बुझाउने कोसिस गर्नुपर्छ । 

अर्को उपाय शिक्षकको सक्रियता हो । अरु बेला विद्यालयमा सक्रिय हुने शिक्षकहरु यति बेला प्रविधिको प्रयोग र सरकारको योजना कार्यान्वयनमा लाग्न सक्छन् । उनीहरुलाई परिचालन गर्न सरकारले समयानुकूल योजना भने बनाउन सक्नुपर्ने कोइरालाको भनाइ छ । पैसा र योजना सरकारले दिने अनि शिक्षकले आवश्यक सहजीकरण गर्नुपर्ने उहाँको बुझाइ छ ।

कोइराला भन्नुहुन्छ, ‘शिक्षाको अधिकार स्थानीय सरकारमा पुगेकोले विपद् र महामारीमा बालबालिका शिक्षाबाट वञ्चित नहुनेगरी योजना बनाउने र कार्यान्वयन गर्ने दायित्वलाई स्थानीय सरकारले भुल्नु हुँदैन ।’ 

उहाँका अनुसार व्यवहारिक सिकाइ र खोजमा विद्यार्थीलाई सक्रिय बनाउन सकिन्छ । विश्वविद्यालयका विद्यार्थीलाई विभिन्न अनुसन्धानमा लगाउन सकिन्थ्यो तर अहिलेसम्म ध्यान पुगेको देखिएन ।

‘गाउँमा वा सहरमा घरभित्रै बस्दा मोबाइल, रेडियो, टेलिभिजन र इन्टरनेट जे छ त्यसैको सही सदुपयोग गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोना रोकथाममा सरकारले जसरी दूरसञ्चारको प्रयोग गरेको छ, त्यसैगरी एसएमएसबाट बालबालिका र विद्यार्थीलाई आवश्यक शैक्षिक जानकारी दिन सकिन्छ ।’

अन्तिम अपडेट: असार ३, २०७७

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया