'फ्रेश' हुने बहानामा बाहिर ननिस्कन र जमघट नगर्न सरकारको आग्रह

 चैत १८, २०७६ मंगलबार ८:४४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले 'लकडाउन'का बेला पालना गर्नुपर्ने अनुशासनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

लकडाउनका बेला घरमै बस्नुपर्ने भए पनि फाट्टफुट्ट उल्लङ्घन भएको भन्दै गृह मन्त्रालयले नियमको पूर्ण कार्यान्वयन गर्न अनुरोध गरेको हो । सरकारको आदेश पालना नगर्ने, अति आवश्यक बाहेक पनि यात्राका लागि पास माग्ने र प्रशासनमा दबाब दिने जस्ता काम नगर्न गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले आग्रह गर्नुभएको छ ।

अहिले अरु बेलाभन्दा फरक अवस्था रहेको भन्दै उहाँले मर्निङ वाक, इभिनिङ वाक, सरसामग्री किनमेल, आफन्त भेटघाट जस्ता काम पनि नगर्न उहाँले अनुरोध गर्नुभयो । दिनभर घरभित्रै बस्ने तर बिहान बेलुका 'फ्रेश' हुने बहानामा बाहिर निस्कने र जमघट हुने गर्दा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम बढ्ने उहाँको भनाइ छ ।

सरकारले लकडाउन थप एक हप्ता लम्ब्याएको छ । गृह मन्त्रालयका प्रवक्ता शर्माले लकडाउनका बेला सुरक्षाकर्मीलाई ढाँटेर वा छलेर हिँडडुल नगर्न र संयमित रहन पनि आग्रह गर्नुभएको छ । उहाँले कठिन परिस्थितिमा सबैले अनुशासनको पालना र धैर्यता कायम राख्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया