प्रशासकीय अधिकृत नै क्वरेन्टीनमा बस्न नमानेपछि

 चैत २२, २०७६ शनिबार १०:४९:२६ | रासस
unn.prixa.net

मुस्ताङ – पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वरेन्टीनमा बस्न आग्रह गरे । तर स्थानीयवासीको आग्रहलाई अस्वीकार गरेर लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै जोमसोम फर्किनुभयो ।

विश्वव्यापी महामारीका रूपमा फलिएको कोभिड–१९को रोकथाम तथा नियन्त्रण गर्न उपल्लो मुस्ताङको लोमान्थाङ–५ का युवा सक्रियताका साथ लागेका छन् । उनीहरुले शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण समितिसमेत गठन गरेका छन् । यस अगाडि कोरला घुम्न आएका बेनी–जोमसोम सडकखण्डका दुई सरकारी गाडीलाई युवाहरुले बाटोमै रोकेका थिए । गाउँलेसमेतलाई विशेष कामबाहेक बाहिर निस्कन नपाइने नियम लागू गरेका छन् ।

यदि कुनै कारणले कोही नयाँ व्यक्ति गाउँ प्रवेश गरे अनिवार्य क्वरेन्टीनमा बस्नुपर्ने नियमसमेत बनाएका छन् । लोमान्थाङ–५ कोरोना रोकथामसँग आबद्ध समितिका युवाले प्रशासकीय अधिकृत पौडेललाई क्वरेन्टीनमा बसेर मापदण्ड पूरा गर्न सुझाएका थिए । तर पौडेलले क्वरेन्टीनमा नबस्ने जनाउँदै फर्किएको लोमान्थाङका युवा टसी आङ्ग्या गुरुङले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार लोमान्थाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई रवाना लिएको चार महिनापछि मात्र पौडेल गाउँ आएका थिए ।

मुस्ताङमा कोरना भाइरसको उच्च जोखिम देखेर क्वरेन्टीन व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको नेतृत्वमा थासाङ गाउँपालिकाको घासामा जनता आधारभूत विद्यालयमा १० श्यया, घरपझोङ गाउँपालिका जोमसोमको जनहित माविमा २० श्यया, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र मुक्तिनाथमा ६ श्यया, लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङको युवा क्लब भवनमा आठ शय्या र लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ वडा कार्यालयमा १४ श्यया क्षमताको क्वरेन्टीन स्थापना गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

हालसम्म सात जनालाई घासाको क्वरेन्टीनमा राखेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ११, २०७७

तपाईको प्रतिक्रिया