एनआरएनए कोरियाले चार हजार किट्स नेपाल पठाउने

 चैत २२, २०७६ शनिबार १३:४०:३५ | रासस
unn.prixa.net

काठमाण्डौ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले कोरोना परीक्षण गर्ने दुई हजार किट्समा अरु दुई हजार थपेर चार हजार किट्स सहित अन्य स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको छ । 

एक हप्ताअघि नै नेपाल पुगिसक्नु पर्ने ती किट्स कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणकै कारण विमान उडान प्रभावित हुँदा पठाउन समस्या भएको हो । अझै पनि ती किट्स नेपाल कहिले पुग्छ भन्ने अन्योल कायमै छ । 

एनआरएनए कोरियाले शनिबार एक जानकारी पत्र निकाल्दै नेपाल पठाइने भनिएको चार हजार किट्स २४ घण्टाभित्र नै सुरक्षित रुपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता र विमान उडान तालिका अनिश्चित हुँदा खरिद गरिएको किट्स नेपाल पठाउन नसक्दा सुरक्षित रुपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको जनाएको छ । 

कोरियन एअरको सउल–काठमाण्डौ चार्टर्ड उडान तालिका निश्चित भएसँगै यथासक्दो छिटो नेपाल सरकारसमक्ष सामग्री हस्तान्तरण गरिने जनाइएको छ ।

जानकारीपत्र अनुसार ती किट्सबाहेक अन्य स्वास्थ्य सामग्रीअन्तर्गत दुई हजार थान पीपीई सेट , १० हजार एन ९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार ग्लास, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार पञ्जा र पाँच सय थर्मोमिटर चाहिँ शनिबार नै चीनको ग्वान्जाउमा रहेको नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाइने भएको छ ।

ती स्वास्थ्य सामग्री नेपाल एअरलायन्सको विमान आगामी चार्टर्ड गरिएका बखत नेपाल पुर्‍याउने छ । दक्षिण कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि ती स्वास्थ्य सामग्री चीनमै खरिद गरिएको हो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया