भाङ हालेको भोज खाँदा ३५ जना बिरामी

 साउन १३, २०७५ आइतबार १८:३३:२३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – नवानको भोजमा भान्सेले खानामा भाङ मिसाएपछि गजुरी गाउँपालिका वडा नम्बर ४ गैरीगाँउँमा आइतबार ३५ जना स्थानीयबासिन्दा बिरामी परेका छन् ।

अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि नातेदार गाउँवासीहरु बिरामी परेको बिजय चेपाङले बताउनुभएको छ । वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने, तथा केही मानसहरु भने डर लागेको बताउने र रुने कराउने गरिरहेको बिजय चेपालङले जानकारी दिनुभयो ।

उनीहरु सबैलाई दही, घ्यूलगायतको खाने कुरा खुवाएर होसमा ल्याउने गरी प्राथमिक उपचार भइरहेको छ । गाउँमै निको नहुने अवस्था आएमा थप उपचारका लागि उपचारमा सघाउने टोली तयारी अवस्थामा रहेको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनुभएको छ । गाउँसम्म पुग्न आदमघाटबाट ५ घण्टा लाग्छ । लगातार पानी परिरहेको र कच्ची सडकमा पहिरो समेत आएका कारण गाउँसम्म पुग्नका लागि कठिनाइ उत्पन्न भएको छ ।

खाना खाएका चेपाङ संघका सन्तमान चेपाङ, संगिता चेपाङ, विमला चेपाङलगायतका चेपाङ अगुवाहरु समेत बिरामी परेर सुतिरहेका छन् । भोजमा भात, आलु र कालो दाल, मासु र तरकारी पकाइएको छ । सुगनका रुपमा जाँड र रक्सी समेत राखिएको वीर सिंह चेपाङले बताउनुभयो । खाना खान बाँकी रहेका कम्तिमा ३५ जनालाई फेरि तरकारी पकाएर खुवाउने तयारी गरिएको वीरसिंहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २१, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया