'सहरबाट गाउँ फर्किएकाले अनुशासन पालन नगर्दा जोखिम बढ्यो'

 बैशाख १४, २०७७ आइतबार १२:९:२५ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि कतिपय नागरिक पैदलै गन्तव्यमा पुगेका छन् । केहीलाई सांसदसहितका जनप्रतिनिधिले रातारात गाडीको व्यवस्था गरी गाउँ पठाएका छन् । तर यो बेला गाउँघरमा पुगेकाहरुले स्वास्थ्य परीक्षण तथा क्वरेण्टीनमा बस्नुपर्ने नियम पालना नगर्दा सङ्क्रमणको जोखिम बढेको छ । आफूहरुले ३२ वटा गाडीको व्यवस्था गरेर १४ सय नागरिकलाई काठमाण्डौबाट गाउँ ल्याएको तर सबैलाई क्वरेण्टीनमा राख्न सम्भव नभएको रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । 

काठमाण्डौबाट गाउँ आएकाहरु क्वरेण्टीनमा बस्न नचाहने भएकाले सामान्य स्वास्थ्य जाँच गरी घरमै बस्न आग्रह गरिएको उपप्रमुख खड्काको भनाइ छ । खड्काले भन्नुभयो, ‘उहाँहरु पनि बस्न नचाहने र पालिकामा पनि सबैलाई राख्ने क्षमता नभएकाले घरमै सुरक्षित बस्न भनिएको छ ।’

काठमाण्डौबाट नजिकै रहेका दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, गोरखा र नुवाकोट जिल्लाका मात्रै होइन अरु जिल्लाका नागरिक पनि यसैगरी घर गएका छन् । घर जान चाहनेलाई केही पालिकाले गाडी खर्च समेत व्यहोरेर लगेका छन् । काठमाण्डौमा अलपत्र परेको, खान बस्न समस्या भएको भन्ने बारम्बारको गुनासोपछि गाडीको व्यवस्था गरी लगेको जनप्रतिनिधिहरुको भनाइ छ ।

अनुशासनको उल्लङ्घन  

कोरोना सङ्क्रमणको जोखिम रोक्न सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरेको छ । तर लकडाउनको बेला सहरबाट गाउँ गएका र लगेकाहरुलाई व्यवस्थापन गर्न पालिकालाई भने समस्या भएको छ । स्वास्थ्य जाँच गर्न, क्वरेण्टीनमा बस्न र घरमै बसेपनि सुरक्षित बस्न सुझाव दिएपनि पालना नगर्दा समस्या परेको जनप्रतिनिधिकै भनाइ छ । 

लकडाउनको बेला काठमाण्डौ र पोखरासहित अरु सहर बजारबाट गाउँ फर्केकाहरुले अनुशासनको पालना नगरेको स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँडले बताउनुभयो । 

लकडाउनको पालना गरी जहाँको त्यहीँ बस्नुपर्ने भएपनि नागरिकले दुःख भोग्नुपरेको भन्दै घर जाने क्रम बढेको छ । घर फर्कने क्रम नरोकिएपछि अहिले केही जिल्लामा विपद् व्यवस्थापन समितिले लकडाउनको बेला घर फर्कनेलाई १४ दिन अनिवार्य क्वरेण्टीनमा राख्ने निर्णय समेत गरेका छन् । गुल्मी, स्याङजा र प्युठानलगायतका केही जिल्लामा १४ दिन क्वरेण्टीन अनिवार्य गरिएको छ ।

काठमाण्डौदेखि गाउँघर जानेहरुको स्वास्थ्य अवस्था र हुलमुलका कारण हुने कोरोना सङ्क्रमणको जोखिम अहिलेको मुख्य चुनौती रहेको काठमाण्डौ उपत्यका मेयर फोरमको निष्कर्ष छ । चोक चोकमा भेला भएर, समूह समूह बनेर गाडीमा कोचाकोच गरी यात्रा गर्दा सङ्क्रमण फैलिन सक्ने जोखिमतर्फ कसैको ध्यान नगएको मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जनले बताउनुभयो ।

उहाँले सकेसम्म अहिले रहेकै ठाउँमा सुरक्षित भएर बस्न र खाने बस्ने समस्या भएमा सम्बन्धित पालिकाका जनप्रतिनिधिसँग सम्पर्क गर्न, व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउन र विपन्न तथा मजदुर वर्गको दैनिकी सहज बनाउन आफूहरु निरन्तर लागेको तर आफूहरुलाई नसोधेर केहीले नियम उल्लङ्घन गरी गाडीका गाडी मानिस गाउँ लगेको दाबी गर्नुभयो । 

सावधानी अपनाइएन : स्वास्थ्य मन्त्रालय

गाडीमा घर जानेहरुले मास्कको प्रयोग, एकआपसमा दूरी कायम गर्ने र भिडभाड नगर्नेजस्ता पूर्व सावधानी अपनाउनुपर्ने भएपनि सम्भव नभएको कारण केही जोखिम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले लकडाउन सुरु नहुँदै विदेशबाट आउनेहरुलाई राख्न क्वरेण्टीनको व्यवस्था गर्न पालिकालाई निर्देशन दिएको थियो । 

त्यसैअनुसार सबैजसो पालिकाले क्वरेण्टीनको व्यवस्थापन पनि गरेका छन् । सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनले दिएका स्वास्थ्य सुरक्षा र सतर्कतासम्बन्धी सर्त र मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । 

‘लकडाउनको बेला ज्यान ठूलो कि पेट ठूलो भन्ने मत देखियो,’ मन्त्रालयको नीति तथा योजना महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले भन्नुभयो, ‘जहाँको त्यहीँ बस्नुपर्ने सरकारको सिद्धान्त हो । तर पालना नहुँदा जोखिम बढेको छ ।’ उहाँले उच्च अनुशासनको पालना गरी पालिकाले बनाएका क्वरेण्टीन वा होम क्वरेण्टीनमा कम्तीमा १४ दिन बस्न र परिवार तथा आफन्तसँग घुलमिल नगर्न आग्रह गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया