भरतपुर कोरोना अस्पतालका कर्मचारीले रातमा सामान ओसारेकाे भिडियाे फुटेज सार्वजनिक, छानबिन समिति गठन

 बैशाख १६, २०७७ मंगलबार ७:२४:४० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै समान ओसार्ने (चोर्ने) गरेको आरोप लागेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा समान चोरी गरेको भिडियो भन्दै अहिले अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहिरिएपछि अस्पतालको व्यवस्थापनको पारदर्शीतामाथि अनेकौँ प्रश्न उठेका छन् । 

सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिन्छ ।

रातको समयमा उनीहरुले अस्पतालको स्टोरबाट समान छानेर निकालेर पोका/पोका बनाएको देखिन्छ । रातको समयमा सामान उठाएको दृष्यले उनीहरु त्यही समान चोर्नकै लागि राति अबेरसम्म अस्पतालमा बसेको भन्ने आरोप लागेको छ । भिडियोमा तीन जनाले पोका पोका बनाएर भाग लगाएको देखिन्छ । 

अस्पतालभित्र रहेको पङ्खा, मास्क (मुखावरण), स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानी/छानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ । समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिन्छ । केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडियोमा देख्न सकिन्छ । पोकोसँगै अन्य समानसमेत खोजेको र लगेको भिडियोमा देखिन्छ । 

भरतपुर महाननगरपालिकाले बनाएको यो अस्पताल गएको चैत २१ गते भरतपुर अस्पतालको मातहतमा चलाउने निर्णयसहितको सम्झौता भएको थियो । वैशाख १ गते दिउँसो मात्र भरतपुर अस्पतालले सामानहरुको विवरण बुझेको थियो । तर चैत ३० गते राति साढे ९ बजेको समयमा कर्मचारीले सामान उठाएका थिए ।  

उठाएका सामान कहाँ पुगेका छन् भन्ने अहिलेसम्म खुलेको छैन । केही सामान उनीहरुले घरमा लगेको, केही सामान चितवनकै कुनै एउटा सर्जिकल हाउसलाई बेचेको आरोप छ । तर आरोप लागेकाहरुले उठाइएको सामान भरतपुर महानगरको स्वास्थ्य शाखामा लगेर राखिएको बताउँदै आएका छन् । उनीहरुले सामान चोरी गरेको स्वीकार गरेका छैनन् । 

कोरोना अस्पताल सञ्चालनको जिम्मा भरतपुर अस्पतालले लिइसकेपछि पनि उनीहरूले गएको वैशाख ७ गते राति ९ बजेपछि केही सामानहरू लगेको अर्को भिडियो पनि सार्वजानिक भएको छ । एक जना कर्मचारीलाई कुटपिट गरेको समेत भिडियोमा देखिएको छ । 

कर्मचारीहरुले आफूहरुले समान चोरी नगरेको बताए पनि भिडियो बाहिरिएसँगै अनेक प्रश्न उब्जिएका छन् । ती कर्मचारीले रातको समयमै किन समान प्याक गरे ? चप्पल आफ्नैै खुट्टामा किन नापे ? स्टोर रुममा बलिरहेको बत्ती निभएर किन मोबाइलको बत्ती वालेर समान बोके ? मोबाइलको बत्ती बालेर अरु सामान पनि खोजी खोजी किन लगे ? उज्यालोमा समान प्याक गरेर अँध्यारोमा किन बोकियो ? तीन जनाका लागि तीन वटा पोका किन उस्तै समान जस्तो बराबर प्याक गरियो ?  

छानबिन समिति गठन 

रातको समयमा अस्पतालबाट कर्मचारीहरुले सामान बाहिर लागेको भिडियो बाहिर आएपछि यो विषयमा छलफल गर्न सोमबार बसेको कोरोना अस्पताल कार्यदलको बैठकमा लामो बहस भएको थियो । यसअघिका बैठकमा सहभागी हुने गरेका कर्मचारीहरुलाई बैठक कक्षबाटबाहिर निकाली कार्यदलका सदस्यहरुका बीचमा मात्र भएको छलफलमा भिडियोको विषयमा छानबिन हुनुपर्ने माग उठेको थियो । 

बैठकले घटनाको छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

अस्पतालमा काम गरिरहेका आरोपी तीनै जना कर्मचारीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ । त्यो स्थानमा आवश्यक अन्य कर्मचारीहरुको व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ । भरतपुर अस्पतालले घटनामा संलग्न भनिएका बरालको काज फिर्ता गरिसकेको छ भने महानगरपालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत सुवेदीलाई फिर्ता बोलाइसकेको छ  । 

कोरोना अस्पताल सुरु भएदेखि नै काम गरिरहेका तीन जना चिकित्सकहरुले काम गर्ने वातावरण नभएको भन्दै जागिर छाडिसकेका छन् । काममा समस्या बढ्दै गएपछि १० बुँदे मागसमेत पेस गरेको र माग सम्वोधन नभएको भन्दै गएको वैशाख ११ गते उनीहरूले राजीनामा दिएका थिए । अस्पतालमा अहिले एक जना मेडिकल अफिसर र भरतपुर अस्पतालका एक चिकित्सकले काम गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया