रत्ननगर नगरपालिका : जमिन बाँझो राखे कारबाही, प्लटिङमा सामूहिक खेती

 बैशाख २३, २०७७ मंगलबार १५:५४:१५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - जमिन बाँझो राख्नेलाई कारबाही गर्दै आएको चितवनको रत्ननगर नगरपालिकाले अहिले प्लटिङ गरेर खाली रहेको जमिनमा सामूहीक खेती गर्ने अभियान सुरु गरेको छ । 

२०७४ साल देखि नै नगरपालिकाले नगर क्षेत्रमा पर्ने जमिन  बाँझो राख्नेलाई कारबाही र जरिबाना लगाउदै आएको थियो । 

जग्गा बाँझो राखे नगरपालिकाले जग्गाधनीसँग प्रतिवर्ष प्रतिकट्ठा पाँच सय रुपैयाँका दरले जरिबाना लिँदै आएको छ  । 

जरिवाना तिर्न तयार हुने तर खेती नगर्ने क्रम बढेकोले नगरपालिका भित्र बाँझो रहेको प्लटिङको तथा अन्य सार्वजनिक जग्गामा खेती गर्ने अभियान सुरु गरेको हो । 

जमिन बाँझो राखे कारबाही हुने डरले जमिन धनीले झारा टारेर बाली लगाउने क्रम बढेपछि नगरपालिकाले अहिले त्यस्ता जमिनमा सामुहीक खेती अभियान सुरु गरेको नगर प्रमुख नारायण बनले बताउनुभयो । 

ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले नगरपालिकाले बाँझो जमिन जोतेर सामूहिक खेती सुरु गराएको नगर प्रमुख वनले बताउनुभयो । 

नगरपालिका कार्यपालिकाले निर्णय गरेर नगर क्षेत्रका १६ वटा वडामा पत्राचार गरी जग्गा धनीलाई व्यवस्थित खेती गर्न आह्वान गर्ने र नमाने सामूहिक रुपमा खेती गर्ने अभियान चलाउन आग्रह गरेको थियो ।

नगरपालिकाले हरेक वडामा बाँझो जमिनको लगत लिन सुरु गरेको छ । वडाध्यक्षहरूलाई किसानको समूह बनाएर सामुहिक खेतीमा लगाउन सवै वडालाई पत्राचार गरेको उहाँले बताउनुभयो । 

नगर क्षेत्र भित्र रहेको खेती योग्य ३० विघाह लटिङमा सामुहकि खेती सुरु भएको छ । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा विगत एक दशकदेखि बाँझो रहेको करिब ३० विगहा जमिन जोतेर खेती गर्न सुरु गरिएको छ । 

जग्गा व्यवसायीले प्लटिङ गरेको, व्यक्तिको नाममा रहेको र लामो समयसम्म खेती नगरेको तथा सार्वजनिक जग्गामा खेती गर्न सुरु गरिएको वडाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बाँझो जग्गाका धनीहरुसँग खेती गर्नका लागि अनुमति लिएर काम गरीरहेको उहाँले बताउनुभयो । 

सामूहिक खेतीका लागि विपन्न वर्गको समूह बनाएर जग्गा बाँडबाँड गरिएको छ ।  सामूहिक खेती गर्न वडाभित्रका करिब ३०० परिवारलाई  समेटेर ५० वटा समूह बनाइएको छ । हरेक समुहमा ५ देखि ७ जनालाई आवद्ध गरीएको छ । 

लकडाउनका कारण ज्याला मजदूरी गर्न नपाएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा लगाउने योजनासहित सामुहिक खेती सुरु गरिएको नगर प्रमुख वनले बताउनुभयो । जग्गा बाँझो रहने अनि समस्या पर्दा सरकारले राहत दिनुपर्ने अवस्था भएकाले खेती गर्न प्रोत्साहित गर्न नगरपालिकाले यो अभियान सुरु गरेको उहाँले बताउनुभयो । 

नगरपालिकाले बाँझो जमिन जोत्नको लागि तेल खर्चसँगै मकै र बोडीको बीउ उपलब्ध गराएको छ । खेती गर्न निःशुल्क जग्गा, बीउ र जोत्न तेल खर्चसमेत स्थानीय सरकारले उपलब्ध गराएपछि वडाभित्रका विपन्न वर्ग उत्साहित भएका छन् ।

उत्पादनशिल क्षेत्रमा लगानी कम भएकाले लकडाउनको बेला धेरै जनता समस्यामा परेको र नगरपालिकाले करिब ८२ लाखको राहत वितरण गरेको थियो । श्रमसँग राहत भन्ने अभियान सहित नगरपालिकाले दिनमा ८ घण्टा श्रम गराउने र ज्याला दिने अभियान सुरु गरेको प्रमुख बनले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया