सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

 जेठ १३, २०७५ आइतबार १५:२:५३ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १३ – सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

आइतबार प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गर्नु भएको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभा त्यो प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो ।

सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । त्यसमध्ये कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टी, नेपालका अनिलकुमार झाले भने संशोधन प्रस्ताव फिर्ता लिन मान्नु भएन । गएको जेठ ७ गते संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कार्यक्रमविनाको नीति आएको भन्दै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने प्रतिवद्धता नआएको भन्दै असन्तुष्टि जनाएका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया