सीमा विवादबारे नेकपा : 'सडक निर्माण तत्काल रोक्न र यो विषयलाई थप गम्भीर नबनाउन आग्रह गर्छौँ'

 बैशाख २७, २०७७ शनिबार २३:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडक उद्घाटन गरेकोप्रति नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भारतको कदमले नेपालको सार्वभौमिकतालाई कमजोर दृष्टिले हेरेको भन्ने नेकपाको निष्कर्ष भएको बताइएको छ । 

नेकपाले नेपाल र भारतबीचको सुमधुर सम्बन्धमा विश्वास गर्ने विज्ञप्तिमा बताइएको छ– जुन सार्वभौम समानता, क्षेत्रीय एकता, आपसी सम्मान र लाभमा आधारित हुन्छ । 

विश्वका मानवले कोरोना भाइरसको महामारीको सामना गरिरहेको बेला भारतको तर्फबाट यस्तो कदम चाल्नु दयनीय भएको नेकपाले ठहर गरेको छ ।

सबै ऐतिहासिक तथ्य र आधार, सुगौली सन्धि अनुसार काली (महाकाली) नदीको पूर्वतिर रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक पनि नेपालको भूमि रहेको स्पष्ट हुने विज्ञप्तिमा भनिएको छ । यही तथ्यलाई नेपाल सरकारले दोहोर्याउँदै आएको र सन् २०१५ मे १५ तारिखमा भारत सरकारलाई कुटनीतिक नोटमार्फत पनि अवगत गराइएको विज्ञप्तिमा समावेश छ । 

‘सीमा विवाद अन्त्य गर्न नेपाल सरकारले कुटनीतिक पहलका लागि गर्दै आएको प्रयासलाई नेकपाले समर्थन गरेको छ’, विज्ञप्तिमा भनिएको छ । साथै नेकपाले तत्काल सीमा विवाद अन्त्य गर्न दुवै देशले कुटनीतक पहल गर्न जोड दिएको छ ।

भारतले नेपाली भूमिमा पर्ने लिपुलेक हुँदै मानसरोवरसम्मको सडक निर्माण कार्य सुरु गरेको समाचार बाहिरिएपछि नेपालका विभिन्न पार्टी तथा जानकारहरुले विरोध गर्दै कुटनीतिक पहल खोज्न आग्रह गरिरहेका छन् ।

त्यस क्षेत्रमा तत्काल सडक निर्माणको काम रोक्न र यो विषयलाई थप गम्भीर बनाउने काम नगर्न नेकपाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • कोमल दाहाल

    May 10, 2020, 7:52 a.m.

    सत्ताधुर राजनीतिक पार्टीको तर्फबाट निकालिएको यो प्रेस विज्ञप्तिको समर्थन गर्दछौं तर नेपाल सरकारको तर्फबाट अफिसियल विज्ञप्ति निकाल्न नितान्त जरुरि छ साथै सम्पुर्ण राजनैतिक दलले पनि संयुक्त रुपमा बिरोधाभाषपुर्ण प्रेस विज्ञप्ति निकाल्दै समस्या समाधान गर्न अगाडी बढ्नुपर्छ। जय मातृभुमी जय स्वाभिमानी नेपाल

  •  0 Reply

तपाईको प्रतिक्रिया