आउँदाे बजेटमा कर बढ्दैन, व्यवसायीले छुट पाउँछन् : अर्थ मन्त्री खतिवडा

 बैशाख २८, २०७७ आइतबार १४:२५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले आउँदो बजेटमा कोरोनाले प्रभावित बनाएको आर्थिक गतिविधिलाई पुनर्जागरण ल्याउने गरी कार्यक्रम आउने बताउनुभएको छ ।

राष्ट्रिय सभामा आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक र बजेटका प्राथमिकता प्रस्तुत गर्दै उहाँले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताउनुभयो ।

कोरोनाको असर कम गर्न गहन जिम्मेवारी गरेको र चुनौती पन्छाउँदै नेपाललाई समृद्धिकाे बाटाेमा डाेर्‍याउने गरी बजेट आउने खतिवडाको दाबी छ । अन्तर्राष्ट्रिय उडान बन्द गर्नुपरेको, सिमानाको आवागमन बन्द गरेको, आन्तरिक आवागमनमा पनि रोक लगाउँदा मानवीय क्षति नभएको र सङ्क्रमित कम नै रहेको तर अर्थतन्त्रमा भने ठूलो क्षती भइरहेको उहाँको भनाइ छ ।

कोरोनाविरुद्ध लड्दै आर्थिक समृद्धितर्फ जानको लागि बजेट केन्द्रित हुने अर्थ मन्त्री खतिवडाले बताउनुभयाे । बजेटमा खासगरी नागरिकले सहज र सुलभ स्वास्थ्य सेवा पाउने कुरालाई जोड दिइने उहाँले बताउनुभयो । बजेटले आर्थिक गतिविधिमा पुनर्जागरण ल्याउने र अर्थतन्त्र गतिशील बनाउने उहाँको विश्वास छ ।

व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आयलाई नै सरकारको मुख्य आय स्रोत बनाउने खतिवडाको भनाइ छ । कर बढाउने नभइ दायरा बढाइने खतिवडाले बताउनुभयो ।

ठूला र चालु अवस्थामा रहेका राष्ट्रिय महत्वका आयोजनामा स्रोत कमी हुन नदिने गरी बजेट आउने पनि अर्थ मन्त्री डा. युवराज खतिवडाको भनाइ छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया