कालीगण्डकी प्रसारण लाइनको काम अन्तिम चरणमा,  बिजुली खेर जान नदिने कुलमान घिसिङको दावी

 जेठ १०, २०७७ शनिबार १४:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउनकाबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी पालिका र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको छ । दाना र कुश्माको खुर्कोटमा २२०/१३२ केभी सब-स्टेसन निर्माणका बाँकी रहेका काम पनि जारी छ । दुवै सब-स्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेका छन् ।

दाना-कुश्मा खण्ड यही असारभित्रमा सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । यही प्रसारण लाइनमा  निजी क्षेत्रका लगानीकर्ताहरुले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । 

निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा सञ्चालनमा रहेको ११/२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सब-स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । अहिले थापा खोलाको विद्युत ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ । 

घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो । तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो । केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारीहरु र पालिका प्रमुखहरुको दह्रो साथ र सहयोग पाएका छौँ । असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ ।’ 

३९ किलोमिटर दाना-कुश्मा प्रसारण लाइनअन्तर्गत १ सय १० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एउटा टावर मात्रै खडा गर्न बाँकी छ । 

केही स्थानीयले प्रसारण लाइन मुनी आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको छ । 

अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो । 

म्याग्दी र पर्वतमा गरी करिब ३ किलोमिटर मात्रै तार टाँग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । उहाँले लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तीव्रता दिन गाह्रो भए पनि असारभित्र जसरी पनि चार्ज गरिने बताउनुभयो । 

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।

अन्तिम अपडेट: जेठ १३, २०७७

तपाईको प्रतिक्रिया