गोरेको बयानले मोड्यो सुन तस्करी काण्ड : ठूला तस्कर छुट्ने खतरा

 जेठ १३, २०७५ आइतबार २०:३५:२१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ, जेठ १३ – मुख्य अभियुक्त गोरेको बयानपछि ३३ किलो सुनकाण्ड नयाँ मोडमा पुगेको आँकलन हुन थालेको छ ।

गोरे पक्राउ पर्नासाथ तस्करीमा संलग्न माथिल्लो तहका व्यक्तिहरु पनि पक्राउ पर्लान् भन्ने आशा र अपेक्षा गोरेको ४ दिनको बयानपछि सिथिल बनेको विश्लेषण हुन थालेको हो । गोरे आफू पूर्पक्षको लागि थुनामा त  गए नै तर सुुन तस्कीरीमा संलग्नलाई समेत सुरक्षित बनाएर जेल चलान भएको विश्लेषणलाई बल पुग्ने केही आधारहरु पनि फेला परेका छन् ।

चार दिनसम्म जिल्ला अदालतमा गोरेले बयानमार्फत के–के नै नयाँ कुरा सार्वजनिक गर्लान्  भनेर उत्सुक भएर बसेकाहरुलाई अन्तिममा सार्वजनिक भएको बयानलले सुन काण्ड अब कता मोडिने हो भन्ने अन्यौल थपिदिएको छ । 

गोरेले आफूभन्दा माथि पनि सुन तस्करीको जालो रहेको बताए पनि त्यसमा को–को संलग्न रहेको भन्नेबारे मुख खोलेका छैनन् । उनले आफू सानो तहको व्यक्ति भएकाले माथि कस–कसको हात थियो भन्ने थाहा नहुने जिकिर गरेर सबैलाई आश्चर्यमा पारेका छन् । 

उनले बयानमा भनेका छन्, ‘सुन तस्करी गर्ने काम प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ । तर यसमा को–को संलग्न छन् भन्ने चाहिँ एकिन भन्न सक्दिन ।’

तस्करीमा गोरेभन्दा माथि कसको सेटिङ थियो भन्नेबारेमा बयानमार्फत खुलासा होला भनेर पर्खिएकाहरु गोरेको बयान सार्वजनिक भएपछि गोरेको पक्राउ सेटिङमा गरिएको र बयानका लागि पनि उनलाई सिकाएर ल्याइएको त होइन भन्ने आशंका पनि विराटनगरमा गर्न थालेका छन् । 

गोरेले सुन तस्करीकै अनुसन्धानका लागि पक्राउ परेका डीआईजी गोबिन्द निरौलाले सुन तस्करीसँग सम्बन्धित धन्दा नगर्न भनी आफूलाई सम्झाएको भन्दै निरौलालाई बचाउने कोशिस गरेका छन्  । डीएसपी प्रजित केसीले भने सनम शाक्यको शव लुकाउन पैसाको डिल गरेको बताएका छन् ।

गोरेले सनमको हत्यापछि डीएसपी केसीले रकमको डिल गरेको बताएका छन् । बयानमा उनले सई बालकृष्ण सञ्जेललाई आफूले मामा भन्ने गरेको र उनीसँग बेला बेला सम्पर्क भइरहने बताएका छन् ।

‘बालकृष्णको घर पूर्व नै भएकाले म मामा भन्थेँ । हामीबीच कहिलेकाँही फोन सम्पर्क भइरहन्थ्यो । निजले काठमाडौं गोठाटारमा घर बनाउँदै गर्दा मसँग ३५ लाख रुपैयाँ मागेका थिए । त्यो रकम मैले दिएँ । पछि २५ लाख रुपैयाँजति फिर्ता गरिसकेका छन् । अब  १० लाख लिन बाँकी छ’, गोरेले बताएका छन् ।

 

ठूला तस्कर राजनीतिक दल र प्रहरीका उच्च अधिकारी

गोरेको बयानलाई हेर्ने हो भने तस्करीबाट आएको सुन सबै भारत जान्छ । आफू सुन तस्करीमा सहयोग गर्ने तल्लो लेबलको मानिस भएकाले लेखिए बमोजिमको बिगो कायम हुने हैन । आफूभन्दा माथिल्लो तहका सुन तस्करीका नाइके प्रहरीका उच्च अधिकारी, तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने गेरेले बयान दिएका छन ।

तर गोरेले सनम शाक्यको अपहरण र हत्या कसैले पनि नगरेको र सनमको हत्या भबितब्यबाट भएको जिकिर पनि बयानमा गरेका छन् । बयानमा सन् २०१५ देखि १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबरको बिगो मागसहित पेश भएको मुद्दामा गोरेले त्यति धेरै बिगोको सुनको कारोबार भएका भए आफ्नै आर्थिक हैसियत अर्कै हुने बयानमा उल्लेख गरेका छन् । 

अदालतमा दिएको बयानमा उनले भनेका छन्, ‘एयरपोर्टमा आउने सुन बाहिर ल्याउने एयरपोर्ट भित्रका प्रहरी एयरपोर्ट बाहिरका प्रहरी सबैको सहयोग चाहिन्छ । मेरा काका पर्ने डीआईजी गोविन्द निरौला एयरपोर्टको चिफ भएर गएपछि मैले लाइन मिलाइदिनुपर्यो भन्दा मलाई उल्टै गाली गरी धन्दा छाड्न भने । त्यसपछि छिरिङले एयरपोर्ट बाहिरको डीआईजीमार्फत भित्रका एसएसपी श्याम खत्रीसँग लाइन मिलाए । निज खत्रीले नै सुन बाहिर निकाल्थे र रकम बुझ्ने गर्थे ।’ 

 

हिसाब सबै सनमले राख्ने गरेको दाबी 

कारोबारको सम्पूर्ण फेहरिस्त मृतक सनम शाक्यले राख्ने गरेको गोरेको दाबी छ । रजिष्टरमा लेखिएका अक्षर मृतक सनमले लेखेको उनले बताएका छन् । सुन कारोबारेका एकिन विवरण राख्न रजिष्टर खडा गरिएको पनि गोरेको भनाई छ । ‘रजिष्टरमा उल्लेखित डीआइजी, एसपी, डीएसपी, पुलिस, ड्राइभर को–को हुन् एकिन भन्न सक्दिँन’, उनले भनेका छन्– ‘एयरपोर्ट बाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो । एसएसपी श्याम खत्रीले रकम बुझेर लाने गरेको मलाई थाहा छ । अन्य कुरा थाहा छैन । प्रहरीको माथिल्लो दर्जामा प्रतिवादी छिरिङले लाइन मिलाउने भएकाले धेरै कुरा निजलाई थाहा छ ।’

अन्तिम अपडेट: चैत ६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया