प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकै भोलिपल्ट कुरुम्बाङद्वारा कोरोना ‘हटस्पट’को निरीक्षण

 जेठ १५, २०७७ बिहिबार २०:३:४ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगञ्ज - रामबहादुर कुरुम्बाङ बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा बुधबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनुभयो । हाजिर भएको भोलिपल्टै उहाँ कोरोनाले एक जनाको ज्यान गएको र १ सय १४ जना सङ्क्रमित रहेको नरैनापुर गाउँपालिका पुगेर पछिल्लो अवस्थाबारे जानकारी लिनुभयो । नरैनापुर कोरोना सङ्क्रमणको ‘हटस्पट’ भएपछि प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका उच्च सुरक्षा अधिकारी पहिलो पटक त्यहाँ पुग्नुभएको हो । प्रदेश सभा सदस्य कृष्ण केसीसमेत प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको साथमा रहनुभएको थियो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहलगायत स्थानीय बासिन्दा र सुरक्षा निकायसँग कुरुम्बाङले छलफल गर्नुभयो । स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारीले नरैनापुरमा कोरोना सङ्क्रमणको अवस्था नियन्त्रणमा रहेको बताउनुभयो । ‘एउटै स्थानीय तहमा धेरै जनामा सङ्क्रमण देखिएपनि अहिले अवस्था नियन्त्रणमै छ,’ कुरुम्बाङले भन्नुभयो, ‘प्रशासनको तर्फबाट थप पहल कदमी लिइने छ ।’ त्यस अवसरमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नरैनापुरको लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बिओपीको समेत अनुगमन गर्यो । 

गाउँपालिका अध्यक्ष शाहले प्रमुख जिल्ला अधिकारी स्थलगत अनुगमनमा आउनुभएपछि सम्पूर्ण नरैनापुरवासीमा हौसला बढेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले लकडाउनलाई थप प्रभावकारी बनाउँदै विकास निर्माणका आयोजना तीव्रताका साथ सञ्चालन गरिने बताउनुभयो । नरैनापुरमा रहेको आइसोलेसनको लागि तत्काल विद्युत् लाइन विस्तार गर्न कुरुम्बाङले बिहीवार विद्युत् वितरण केन्द्रका प्रमुख र निर्माण व्यवसायीलाई पटक–पटक सम्पर्क गरेर ध्यानाकर्षण गर्नुभयो ।

उहाँले कटकुइयामा रहेको दशगजा क्षेत्र र सीमा नाकाको पनि स्थलगत अनुगमन गर्नुभयो । बाँकेमा एक जना वडाध्यक्ष, प्रहरी जवान, नर्सिङ अधिकृत र पत्रकारसहित १ सय ७१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । नरैनापुरमा निषेधित क्षेत्र जारी गरेर सेना परिचालन गरिएको छ । जिल्लाभर बिहीबारदेखि लकडाउनलाई थप कडाइ गरिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया