नेपाल आउनै पर्ने अवस्थामा रहेकालाई तत्काल ल्याइने उच्चस्तरीय समितिकाे निर्णय

 जेठ १६, २०७७ शुक्रबार १८:१८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले तेस्रो देशमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजकिरिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताउनुभयो ।

यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वदेश फर्काइने उहाँले बताउनुभयो । यस्तै सरकारी सेवामा रही तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ ।

सरकारले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गर्नेछ । सचिव बिडारीका अनुसार प्राप्त विवरण पहिचान गरी परराष्ट्र मन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिनेछ । पर्यटन मन्त्रालययले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने छ ।

समितिले भारतमा रहेका नेपाली नागरिकहरुलाई ल्याउन देशका विभिन्न नाकाहरुलाई आधिकारिक रुपमा तोकेको छ । सचिव बिडारीका अनुसार पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलङ्गवा, गौर, वीरगञ्ज र महेशपुर नाका तोकिएको छ ।

यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरु तोेकिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

1 Comments

  • Keshav B.k

    May 30, 2020, 8:27 a.m.

    खान बस्न समस्या छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया