नेपाली कोरोनाको मौलिकता : विपन्नलाई तर्साउने, पहुँचवालले थर्काउने : दिउँसो जाग्ने, बिहान बेलुका भाग्ने !

 जेठ २४, २०७७ शनिबार १०:२०:८ | मिलन तिमिल्सिना
unn.prixa.net

छिमेकी देश भारतको कोरोना कडा र जब्बर खालको । हाम्रा प्रधानमन्त्रीले मात्र भनेको होइन, अनुसन्धानबाटै पत्ता लागेको । तर नेपालमा छिरेको कोरोना चाहिँ साह्रै असल र इमान्दार, ठाउँ र मान्छे हेरेर व्यवहार गर्ने । प्रधानमन्त्री र अरु कसैले भनेको होइन, हाम्रो आफ्नै व्यवहारबाट थाहा भएको ।

तपाईंलाई पनि थाहा होला नेपाल छिरेको कोरोना निश्चित ठाउँमा जाँदैन, निश्चित बेलामा बाहिर निस्कँदैन र निश्चित मान्छेलाई यो कोरोनाले छुँदैन पनि । अलि पहुँचवाला र टाठाबाठा नेपालीले जे जे भन्यो, खुरुखुरु त्यही त्यही मान्छ । 

नपत्याए तपाईं आफैंलाई हेर्नुहोस् । तपाईंलाई परिवार, आफन्त, चिनेजानेका र साथीभाइबाट कोरोना सर्दैन । कहिलेकाहीँ मुखमा मास्क लगाए पनि तपाईं लखरलखर हिँड्न छोड्नुभएको छैन । आफ्नै मान्छे हुन्, चिनेजानेका साथीभाइ त हुन् नि भनेर तपाईं टोल छिमेकीसितको जमघटमा रमाउनुहुन्छ । अब कोरोनाको कुरा पनि नयाँ हुन छाड्यो, मान्छे मर्ने कुरा पनि सामान्य हुन थाल्यो भनेर गफ दिनुहुन्छ ।

भान्सामा मिठा परिकारको बास्ना छर्दै लकडाउनले त खत्तम बनायो नि भनेर अरुलाई सुनाउनुहुन्छ । साथीभाइ र चिनेजानेको मान्छेसँग बसेर यसरी गफिनु हुन्छ, किनभने मनको अन्तरमा तपाईंलाई लागेको छ मलाई कोरोना सर्दैन ।

अनि कोरोना बिहान बेलुका आराम गर्न निस्कन्छ, बजार जाँदैन । नेपालीको सजिलो लागि उसले आफैंले तालिका बनाएको छ, बिहान बेलुका चुप लागेर बस्ने दिउँसो मात्रै बजारतिर जाने ।

नपात्याए बिहान बेलुका बजार जानुस् । दिउँसो चकमन्न हुने बजारमा बिहान बेलुका पाइला राख्ने ठाउँ हुँदैन । घर बसेर चाहिने नचाहिने, हुने नहुने, काम लाग्ने नलाग्ने उट्पट्याङ गरेर थाकेपछि मान्छे बिहान बेलुका सामान किन्ने निहुँ पारेर बजार जान्छन् । सामान किन्नेभन्दा बढी घुमफिर गर्छन्, कुन ठाउँ कस्तो भएछ भनेर आँखा तन्काएर हेर्छन् । जहाँ जता हेरे पनि मान्छे नै मान्छे, कोरोना त कतै देखिंदैन । नेपाल पसेको कोरोना मान्छे आउने बेलामा अथवा बिहान र बेलुका दुलाभित्र लुकेर बस्न बाध्य हुन्छ । अर्थात बिहान बेलुका चाहिँ मान्छेका लागि ठाउँ छोडिदिनुपर्छ भनेर कोरोना आफै चुप लागेर बस्छ । नेपाली र कोरोना भाइरसबीच अघोषित सम्झौता नै भएको छ, मुख्य चोक बजार बिहान बेलुका मान्छेका लागि, बिहान र बेलुका बाहेकको सबै समय कोरोना भाइरसका लागि !

अझ साना गल्लीतिर त कोरोना दिउँसो पनि जान डराउँछ । भित्री बाटो कहाँ जान्छ भन्ने पनि कोरोनालाई थाहा हुँदैन । लकडाउन सुरु भएदेखि नै ती ठाउँमा दिनभर पसल खुलेका हुन्छन् । मुख्य चोक बजारमा निस्कन नपाएका मान्छे निर्धक्कसँग डुलिरहेका छन् । सँगै बसेर लुँडो र क्यारिमबोर्ड खेलिरहेका हुन्छन् । कोरोना छिर्नै डराउने गल्लीमा किन चाहियो भौतिक दूरी ? किन चाहियो मास्क र स्यानीटाइजर ?

अझ सरकारलाई कर तिर्न जाने मान्छेलाई त कोरोनाले परैबाट बाटो छोडिदिन्छ । त्यसैले त सरकारले कर तिर्न आउनु है भनेर बोलाइरहेको छ । सरकारलाई थाहा छ, व्यापार व्यवसाय गर्दा कोरोना लागे पनि कर तिर्ने बेला कोरोना लाग्दैन । करसँग कोरोना पनि डराउँछ । कर तिर्न जानेलाई बाटो छोडिदिन्छ ।

पत्रकारको कार्ड र सरकारी पास भएका मान्छेसँग पनि कोरोना डराउँछ । कार्ड र पास भएका मान्छे सडकमा जुनसुकै बेला हिँडे पनि हुन्छ । कोरोनाले केही गर्दैन । तपाईंको पनि कोही ठूलाबडासँग पहुँच छ भने पास लिनुहोस् । पत्रकार, वकिल, सरकारी कर्मचारी जे को हुन्छ, कार्ड भिर्नुहोस् । कार्ड र पास देख्नेबित्तिकै कोरोनाले सलाम ठोक्छ र तपाईंलाई बाटो छोडिदिन्छ । 

तपाईंसँग आफ्नो गाडी छ भने पनि कोरोनाले केही लछारपाटो लगाउदैन । सार्वजनिक गाडीलाई मात्रै हो कोरोनाले देख्न नसक्ने । त्यसैले त हिजोआज आफ्नो गाडी हुनेहरु जुनबेला पनि सररर सडकमा निस्कन पाउँछन् । सार्वजनिक गाडी चाहिँ ग्यारेजमै सड्न लागिसके, आफ्नो गाडी नभएर सार्वजनिक गाडी चढ्नेहरु पनि घरमै लड्न लागिसके । सार्वजनिक गाडी र त्यसमा यात्रा गर्नेलाई कोरोनाले देखी सहँदैन ।

नेपालमा आएको कोरोनाको स्वभाव अचम्मको छ । बजारमा दिउँसो सामान किन्न जानेलाई कोरोनाले झम्टिन्छ । तर त्यही सामान अनलाइनबाट अर्डर गर्यो र कसैले ल्याई दियो भने चाहिँ उसलाई कोरोनाले केही गर्दैन, उसबाट कोरोना पनि सर्दैन । 

यति कुरा बुझेपछि तपाईंलाई प्रष्ट भयो होला कोरोना टाठाबाठा, पहुँचवाला, पास र कार्डवाला, गाडीवालासँग तर्सन्छ । तर केही नहुने विपन्न, मजदुरलाई चाहिँ तर्साइरहन्छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • सरस्वती लामा

    June 6, 2020, 10:36 a.m.

    वाह ! क्या राम्रो कुरा । मलाई पनि यस्तै यस्तै लाग्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया