क्वरेन्टीनमा तनाव हुन नदिन मनोपरामर्श

 जेठ २४, २०७७ शनिबार १३:४५:१९ | रासस
unn.prixa.net

कैलाली - कैलालीको गौरीगङ्गा नगरपालिका-९ ले क्वरेन्टीनमा रहेकालाई मानसिक तनाव हुन नदिन मनोपरामर्श दिन सुरुवात गरेको छ । 

क्वरेन्टीनमा रहँदा मनमा विभिन्न कुरा खेलिरहँदा मानसिक रूपमा तनाव पैदा हुनसक्ने  र यसले दीर्घकालीनरूपमा समेत असर पुर्याउने अवस्थालाई ध्यान दिँदै  मनोपरामर्शको सुरुवात गरिएको वडाध्यक्ष अध्यक्ष हरिप्रसाद तिवारीले जानकारी दिनुभयो । 

'हामीले वडामा रहेका तीनवटै क्वरेन्टीनमा परामर्श दिन सुरु गरेका छौँ,' 'यसले गर्दा क्वरेन्टीनमा बस्नुभएकाहरुमा थोरै भए पनि ऊर्जा थपिएको छ' उहाँ भन्नुहुन्छ ।

स्थानीय युवाहरू क्वरेन्टीन व्यवस्थापनदेखि जोखिम हुन नदिन वडासँगै हातेमाले गरेर गाउँगाउँमा चेतना फैलाउनसमेत लागिरहेको उहाँले बताउनुभयो । 

'क्वरेन्टीनमा बसिरहँदा आफूलाई कोरोना नै भएको छ', 'लकडाउनका कारण रोजगारी गुमाएर बसिरहेको हुनाले परिवारमा आर्थिक बोझ आउँछ, लगायतका कुरा सोचेर तनाव लिएर बसेकालाई आत्मबल बढाउन मद्दत पुर्याउने हेतुले परामर्श दिइएको हो',  मनोविर्मशकर्ता सीता भण्डारी भन्नुभयो  ।
 
उहाँले तनाव व्यवस्थापन गर्न सामाजिक सञ्जालमा आएका अपूर्ण र अविश्वसनीय समाचारहरू हेर्न र सुन्न बन्द गर्न,  शारीरिक व्यायाम तथा ध्यान गर्न, स्वस्थ र सन्तुलित भोजन गर्न, धुमपान र मद्यपानबाट टाढै रहन, पर्याप्त मात्रामा सुत्ने, आफूलाई मनपर्ने र ऊर्जाशील क्रियाकलापमा समयको सदुपयोग गर्न साथीभाइ तथा आफ्नो नजिकको मान्छेहरूको निरन्तर सम्पर्कमा बस्न आग्रह समेत गर्नुभयो । 

गौरीगङ्गा नगरपालिकाका प्रमुख भीम देउवाले नगरपालिकाका हरेक क्वरेन्टीनमा मनोपरामर्श सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले सङ्कटको घडीमा एकले अर्कालाई मद्दत गर्न आग्रह समेत गर्नुभयो ।  

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया