यूएईबाट रित्तै हात फर्किएका भन्छन् : आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ

 जेठ २४, २०७७ शनिबार २०:७:१२ | रासस

काठमाण्डौ – शुक्रबार राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो । 

संयुक्त अरब इमिरेट्स यूएईबाट एयर अरेबियाको जी नाईन १७५१ नम्बरको उडानमार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ बजेर ३६ मा अवतरण भएपछि त्यहाँको प्रक्रिया पूरा गरेर सेनाले ६१ नेपाली राति ८ बजे भक्तपुरका दुई होल्डिङ सेन्टरमा ल्याएको थियो ।

दुबईबाट फर्किएकामध्ये प्रदेश १ का ४१ इम्पिरियरमा र प्रदेश २ का २० नागरिक हेरिटेजस्थित नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा आएपछि जब बसबाट उनीहरु झर्दैै थिए, उनीहरुको मुहारमा थोरै खुशी धेरै पीडा देखिन्थ्यो । 

एकाध व्यक्तिको हातमा मात्रै सुटकेश थिए, आउनेमध्ये अधिकांशको हातमा एउटा सानो झोलाबाहेक केही थिएन । रित्तै हात आउने कतिपयको खुट्टामा चप्पल, आङमा पुरानो टिसर्ट र हाफ पाइन्टमात्रै थियो । लाग्थ्यो उनीहरु विदेशबाट होइन, कतै कारखानामा मजदुरी गरेर फर्किरहेका छन् ।

दुबईबाट ११ महिनामा स्वदेश फर्किएका बाराका अशोक सहनीले आठ महिना पनि राम्रोसँग काम गर्न पाएनन् । विदेश जाँदा लिएको ऋण जिउँदै छ, आमा, श्रीमती, तीन छोराछोरीको सपना दुबईमै सेलाएर उहाँ रित्तै हात फर्किनुभयो । कारोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै तीन महिना बेरोजगार बस्नुपर्दाको तलब पनि पाएनन । एक महिना खाना दिएको कम्पनीले त्यसपछि छाडेर जान ताकेता गर्‍यो । 

‘मेरो काम गरेको पैसा पनि खोसे, अब घर फर्कन पाउँछु कि पाउन्न भन्ने लागेको थियो, त्यहाँको सरकारले जेलबाट झिकेर नेपाल पठाइदियो, अब त बाँचियो, आफ्नै देशमा आएँ ।’

  नेपाल फर्कने टिकटसम्म लिने पैसा बल्ल जोहो गर्न सक्नुभयोे, लिएर आउनुभयो त केवल सिङ्गो शरीर । सहनी भन्नुहुन्छ, ‘धेरै सपना बोकेर गएको थिएँ, ऋण तिरौँला, आमा, श्रीमती र सन्तानलाई नयाँ लुगा ल्यादिउँला, तर फर्किंदा रित्तो ज्यान लिएर आएको छु, आफ्नै देशमा फर्किन पाएँ, यसैमा आफूलाई भाग्यमानी ठानेको छु ।’

सप्तरी कञ्चनपुरकी सीतादेवी सतारको दुःख पनि कम छैन । घरमा छोराछोरी सासूको जिम्मेवारी श्रीमानलाई सुम्पिएर नौ महिनाअघि दुबई पुग्नुभएकी उहाँ एउटा घरमा काम गर्नुहुन्थ्यो ।

विदेश जाँदा देखेका सारा सपना एउटा प्लाष्टिकको झोलामा पोको पारेर फर्किनुभएकी उहाँ कोरोनाको कहरसँगै दुई महिना जेलमा बस्नु पर्‍यो । ‘सात महिनामात्रै काम गरेँ, कोरोना फैलिएपछि घर मालिकले जबर्जस्ती कामबाट निकालिदिए, कामबाट ननिकाल्न अनुरोध गर्दा जेल पठाइदिए’, उहाँले भन्नुभयो, ‘मेरो काम गरेको पैसा पनि खोसे, अब घर फर्कन पाउँछु कि पाउन्न भन्ने लागेको थियो, त्यहाँको सरकारले जेलबाट झिकेर नेपाल पठाइदियो, अब त बाँचियो, आफ्नै देशमा आएँ ।’

सर्लाही वाग्मतीका युवराज स्याङ्तान दुबई पुगेको छ महिनामात्रै भयो । एक कम्पनीमा हेल्परको काम गर्ने उहाँले जम्मा तीन महिना काम गर्न पाउनुभयोे । ऋण तिर्न त कहाँ हो कहाँ, तीन महिना काम गरेको पैसाले रोजगारी गुमेको तीन महिना खान र प्लेन भाडामात्रै पुगेको बताउनुहुन्छ ।

‘सरकारले कहिले फर्काउला भनेर निकै कुर्‍यौँ, दूतावास धायौँ, कयौँ फोन गर्‍यौँ, बल्ल आफ्नो देश टेक्न पाउँदा उताको सबै दुःख भुलेर खुशी भएको छु, परिवार पनि बल्ल खुशी भए, ज्यान रहे ऋण त तिरौँला नि’, उहाँ खुशी र हिम्मतसँगै व्यक्त गर्नुहुन्छ ।

दुईवर्षअघि दुबई पुग्नुभएका बारा कलैयाका जीतेन्द्र सहनी कोरोना भाइरसका कारण डेढ महिनादेखि कामविहीन बन्नुभएको थियो । त्यहाँ हेल्परको काम गर्नुभएका सहनीलाई कोरोनाको महामारीले कम्पनी बन्द भएसँगै निकाल्यो ।

‘कम्पनी छाडेर जा, जहाँसुकै जा, कि अरु कम्पनी खोजेर भए पनि जा भनेर निकै दुःख दियो, यस्तो बेलामा कुन कम्पनीले काम लाउँथ्यो र ?’ उहाँ भन्नुहुन्छ, ‘कति नेपाली सडकमा परेका छन्, कतिले खान पाएका छैनन्, नेपाल फर्कने बाटो कुरेर बसेका छन्, बल्लतल्ल म आफ्नो देश आएँ, अब त मरे पनि बाँचे पनि आफ्नै माटोमा आएँ, धेरै खुशी भाएको छु ।’

उहाँ भन्नुहुन्छ, ‘दुई वर्षको भिसा छ, पाँच महिनामात्रै काम गरेँ, जाँदा लिएको ऋण पनि तिर्न पाइनँ, युएइको १८५० रुपैयाँ जहाज भाडा तिरेर फर्किएँ, नेपाल आउन लागेको खबरले परिवार पनि धेरै खुशी छन्, सकुशल नेपाल फर्किन पाएँ, यसैमा धेरै खुशी लागेको छ ।’

नेपाल आउँदा आफैंले भाडा तिरेर आउनुभएका उहाँ पेटभरि खानसमेत नपाएको बताउनुहुन्छ । ‘त्यहाँ कैयौँ नेपालीले पेटभरि खान पाएका छैनन्, कैयौँ अलपत्र छन्,’ घरमा आमा, श्रीमतीसहित चार सन्तानले पर्खिरहेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘यूएइको १५५० रुपैयाँ जहाज भाडा तिरेर म फर्किएँ, गोजीमा उताको १० रुपैयाँ बाँकी छ, कैयौँ नेपालीसँग जहाज भाडा तिर्ने पैसा पनि छैन, उनीहरु कसरी फर्कन्छन् खै ?’, आज आफ्नै देशमा आउन पाएँ, धेरै खुशी भएको छु ।’

खाडी देशबाट नेपाल फर्कने सबैको दुःख उस्तै थियो । धनुषा जनकपुरका हरिकिशोर चौधरी दुबई गएको पाँच महिनामात्रै काम गर्न पाए ।

त्यसपछि कोरोनाले काम बन्द भयो, आठ महिनाको बसाईँमा तीन महिना कामविहीन भएर अलपत्र परेँ । उहाँ भन्नुहुन्छ, ‘दुई वर्षको भिसा छ, पाँच महिनामात्रै काम गरेँ, जाँदा लिएको ऋण पनि तिर्न पाइनँ, युएइको १८५० रुपैयाँ जहाज भाडा तिरेर फर्किएँ, नेपाल आउन लागेको खबरले परिवार पनि धेरै खुशी छन्, सकुशल नेपाल फर्किन पाएँ, यसैमा धेरै खुशी लागेको छ ।’

भक्तपुरका दुई होल्डिङ सेन्टरमा रहेका प्रदेश  १ र २ का उनीहरुको व्यक्तिगत विवरण लिने, तापक्रम नाप्ने कार्यमा नेपाली सेना वीरदल गण खटिएको थियो ।

उनीहरुलाई खाना खुवाएर एक घण्टाभन्दा बढी विश्राम गराएर राति १०ः४० मा प्रदेश पठाएको गणका गणपति एवं कर्नेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । यातायात व्यवसायी महासङ्घको दुईवटा बसमा हालेर उनीहरुलाई प्रदेश पठाएको थियो । शुक्रबार यूएइबाट एक शिशुसहित १५५ पुरुष र १३ महिला गरी १६८ जना नेपाली श्रमिक स्वदेश फर्किएका छन् । 

अन्तिम अपडेट: असार ९, २०७७

3 Comments

  • Prabin shrestha

    June 7, 2020, 12:56 a.m.

    म पनि दुबई छु , ३ महिना भयो रुममा सुतेको / कम्पनी बन्द भएको छ , कम्पनीले टर्मिनेंटगरेकोले हामीलाई पनि सहयोग गर्नुपर्यो / कृपया दुतावास लाई खबर दिनुपर्यो / कम्पनी zoon parking vlate driver llc. दुबईमा छु /दुतावासमा खबर पुर्याईदिनुहोला ...हामे धेरै अप्ठेरोमा छौं/

  •  0 Reply
  • साधुराम खतिवडा

    June 6, 2020, 11:28 p.m.

    टिकटकाे भाडा यती धेरै कसरी, माैकामा फाईदा लिन खाेजे एयरलानहरुले, पाप धुरिबाट कराउछ चेतना भयस, म पनि बुर दुवईमा छु ।

  •  0 Reply
  • Mahendra

    June 6, 2020, 8:26 p.m.

    जहाज सारजहॉबाट आएको छ, लेखमा उल्लेखित प्राय सबैपात्रहरु दुबईमा कामगर्नेछन।खै के खै के।

  •  0 Reply

तपाईको प्रतिक्रिया