जिम्मेवार निकायले सूचना बेचेर रातारात १ सय २० वटा विद्युतीय गाडी पैठारी : सांसद कँडेल

 जेठ २५, २०७७ आइतबार १३:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले जिम्मेवार निकायले सूचना बेचेर रातारात १ सय २० वटा विद्युतीय गाडी पैठारी भएको आरोप लगाउनुभएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै सांसद कँडेलले अर्थनीति तय गर्नेहरुबाट नै बजेटको गोप्य सूचना बेच्ने काम गरेको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘आफ्नो स्वार्थका लागि देशको अर्थनीति तय गर्ने जिम्मेवार निकायबाटै अति गोप्य बजेट आउने केही दिन अघि सूचना बेचेर रातारात १ सय २० विद्युतीय सवारी पैठारी गरियो ।’

विद्युतीय गाडी आयातमा १ सय १३ प्रतिशत कर लगाउने निर्णय लाई प्रतिगमनकारी निर्णय को संज्ञा दिनुभयो । विद्युतीय गाडीमा कर बढाउनु वातावरण विनास र इन्धन लगायतको आयात बढाउने प्रतिगमनकारी निर्णय हुनुको साथै सरकारको जनताप्रतिको राजनीतिक वेइमानी भएको टिप्पणी गर्नुभयो ।

उहाँले चुनावी घोषणा र प्रधानमन्त्रीको प्रतिबद्धता विपरीत अर्थमन्त्रीले विद्युतीय गाडीमा कर वृद्धि गर्ने निर्णय गरेको आरोप पनि उहाँले लगाउनुभयो ।

उहाँले नेकपाको चुनावी घोषणा पत्रमा आगामी ३ बर्षमा काठमाण्डौ उपत्यकाभित्र विद्युतीय गाडी मात्रै प्रयोग गरिने कार्ययोजना लागू  गर्ने भनी भोट माग्ने काम गरेको तथा २ वर्षअघि साझा यातायातले काठमाण्डौमा सुरु गरेको विद्युतीय सवारीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सन् २०२० भित्र नेपालका कुल सवारी मध्ये २० प्रतिशत विद्युतिय हुने घोषणा गरेको स्मरण गराउनुभयो ।

उहाँले मुलुकका पूँजीपतिहरुले महंगा गाडी प्रयोग गरेका कारण देशको पैसा बाहिरीनबाट रोक्न विद्युतिय गाडीमा कर बढाउन परेको सरकारी तर्क झुटो तर्क भएको दावी गर्नुभयो । यो निर्णयले दीर्घकालीन रुपमा सरकारलाई नै घाटा हुने भएकाले निर्णय फिर्ता लिन माग गर्नुभयो ।

उहाँले राष्ट्रपति, प्रधानमन्त्री समेतले विद्युतीय सवारीप्रति गरेको प्रतिवद्धतालाई अर्थमन्त्रीले हटाएको भन्दै रोष प्रकट गर्नुभयो ।

उहाँले विदेशी चकलेटमा आयातमा मुलुकलाई ५० करोड घाटा भइरहेको दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘चकलेटमा १० प्रतिशत छुट गरेर विदेशबाट ५ अर्बको चकलेट ल्याइन्छ र १० प्रतिशत डिस्काउण्ट गरेर भन्सार घटाएर ५० करोडको घाटा गराईन्छ ।’

अन्तिम अपडेट: असार ११, २०७७

तपाईको प्रतिक्रिया