सङ्क्रमितकाे सङ्ख्या ४ हजार नाघ्याे, आज थपिएका ३२३ कहाँका हुन् ?

 जेठ २७, २०७७ मंगलबार १८:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतम

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या चार हजार ८५ पुगेको हो । विभिन्न जिल्लाका गरी दुई सय ९२ पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै कोशी अस्पतालमा इलामका एक र धरानमा गरिएको परीक्षणमा सुनसरीका एक र सप्तरीका ६ जना गरी सात जनामा सङ्क्रमण भेटिएको छ ।

प्रादेशिक प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा चितवनका २४, नवलपुरका तीन, धादिङका एक, कपिलवस्तुका एक र सप्तरीका एक गरी ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा म्याग्दीका एक, नवलपुरका १२ र बाग्लुङका ११ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये धनुषाका २१, महोत्तरीका १९ र सर्लाहीका एक जना रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङकै ६ जनामा सङ्क्रमण पाइएको छ ।

त्यस्तै भेरी अस्पताल प्रयोगशालामा बाँकेका नाै जनामा सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लाका दुई जनामा सङ्क्रमण भेटिएको हो । प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १२ र सुर्खेतका चार जना गरी १६ जनामा सङ्क्रमण भेटिएको छ ।

त्यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दार्चुलाका १०, कञ्चनपुरका १९, डडेलधुराका सात र कैलालीका एक जना गरी ३७ जनामा सङ्क्रमण भेटिएको हो । प्रादेशिक अस्पताल रुपन्देहीमा रुपन्देहीका २० र कपिलवस्तुका २ गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको परीक्षणमा एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये धनुषाका २४, कपिलवस्तुका सात, महोत्तरीका ३१, पश्चिम नवलपरासीका १२, नुवाकोटका दुई, रौतहटका २१, सर्लाहीका १६ र सिरहाका १२ जनामा सङ्क्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

आज इलाम जिल्लामा पहिलो पटक सङ्क्रमण भेटिएको हो । अब सङ्क्रमित जिल्लाको सङ्ख्या ७२ पुगेको छ । मङ्गलबार थपिएकासहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया