महाकाली सन्धि गर्नेहरुले जनतासँग माफी किन नमाग्ने ? : उपेन्द्र यादव

 जेठ ३१, २०७७ शनिबार १५:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले 'राष्ट्रघाती' महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताउनुभएको छ । 

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धिभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताउनुभयो । सुगौली सन्धिले महाकाली पश्चिमको भूमि भारतको भने पनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धिमा उल्लेख भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'इस्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धि अत्यन्तै अपमानजनक थियो । नेपालले ठूलो भूमि गुमाउनुपर्‍याे । काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो । तर महाकाली सन्धि गर्दा हर्ताकर्ताहरु ठूला पार्टीका नेताहरु पनि हुनुहुन्थ्याे, प्रधानमन्त्री पनि हुनुहुन्छ । सुगाैली सन्धिमा महाकाली नदीबाट पश्चिमका भागको दाबी नेपालले छोडेको हो तर महाकाली नदीको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ । महाकाली नदीको अधिकांश भाग दुई देशकाे सीमा नदी भएको स्वीकार गर्दै लेखिएको छ । सुगौली सन्धिले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धिले पछाडी धकेल्ने कुरा उल्लेख छ । जवाफ दिनुपर्‍यो, कांग्रेस–कम्युनिस्ट पार्टीका नेताहरुले जवाफ दिनुपर्‍यो । यसका लागि हामी सबैले माफी किन नमाग्ने ? राष्ट्रवादीको नारा हामी दिन्छौँ, मधेशीलाई गाली गर्छौँ, यिनीहरु भारतीय हुन् भन्छौँ भने माफी माग्नुपर्‍याे नि ।'

उहाँले महाकाली सन्धी गर्दा मुहानको टुङ्गो किन लगाइएन भन्दै प्रश्नसमेत गर्नुभयो । नेपालको नक्सा पहिले चुच्चो भए पनि पछि गायब भएको उल्लेख गर्दै उहाँले यो कसको पालामा किन भएको हो त्यसको जानकारी सदनमा हुनुपर्ने बताउनुभयो ।

कालापानी क्षेत्रमा पछिल्लाे ६० वर्षदेखि भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै उहाँले सन् १९६५ मा पनि सन्धि भएको कुराहरु बाहिर आएकाेले यो विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । जातिवादी मानसिकता त्यागेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाएमात्रै राष्ट्रिय एकता बलियो हुने उहाँले बताउनुभयो ।

राष्ट्रवादको भावना टुट्यो भने कुनै पनि सेना, सरकार र संविधानले रोक्न नसक्ने उहाँले बताउनुभयो । नीतिगत कुराहरु आफ्नो ठाउँमा भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा आफ्नो दल बलियो रहेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया