ट्राफिक प्रहरी आफैँ अलमलमा, फेरि भन्यो- मोटरसाइकलमा एक जना मात्रै चढ्न पाउने

 असार १, २०७७ सोमबार ८:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सोमबार बिहान मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू भएको र दुई जना चढ्न पाउने बताएको ट्राफिक प्रहरीले फेरि मोटरसाइकलमा एक जना मात्रै चढ्न पाउने बताएको छ ।

सोमबार बिहान यात्रु सहजताका लागि दुई जना यात्रु ओहोरदोहोर गर्न दिने बताएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले फेरि यसमा अलमल भएको भन्दै मोटरसाइकलमा एक जना मात्रै यात्रा गर्न मिल्ने स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, ‘अलमल भयो, अहिलेसम्म मोटरसाइकललाई पनि जोर बिजोरमा चलाउने र एक जना मात्रै चढ्ने व्यवस्था नै कार्यान्वयन गरेका छौँ ।’

मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाउने नियमको अहिले व्यापक विरोध भइरहेको छ । गएको शुक्रबार चार पाङग्रे निजी गाडीलाई जोर बिजोर प्रणालीमा चलाउने निर्णय भएको थियो भने सोमबारदेखि दुई पाङग्रेमा यो नियम लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् । यस्तै, लकडाउन खुकुलो भएसँगै काठमाण्डौँ उपत्यकाका सडकमा गाडीको चाप बढेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • किशोर अधिकारी

    June 15, 2020, 12:41 p.m.

    के कार्यालय पनि एक दिन जाने अर्को दिन नजाने ? गाडी नहुने एउटै परिवारको एकजना सँधै पछाडि बसेर बाईक वा स्कुटरमा बाट कार्यालय जानेहरु कसरी कार्यालय जाने ? घरबाट २ -४ कि. मि. दुरीमा कार्यालय हुनेहरु त ल हिँडेरै जालान् रे तर १०-१२ कि.मि. टाढाबाट दैनिक कार्यालय जानुपर्नेहरु चाहिँ कसरी जाने न त कुनै सार्वजनिक सवारीसाधन नै चलेका छन् । बरु सार्वजनिक सवारी साधनमा जानु भन्दा एउटै घरको परिवार त सँगै दुई पांग्रेमा जानु नै सुरक्षित हुन्छनी ।बरु कम्तिमा पनि दिनहुँ कार्यालय जानुपर्नेहरुको लागि जोर बिजोर नभनी दुवै जनाको कार्यालयको परिचयपत्र तथा नाता खुल्ने पत्र हेरी कार्यालय जान आउन पाउने व्यबस्था सहज गरिदिनु अत्यावश्यक छ । यो कुरा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया