प्रधानमन्त्री ओलीको अनुपस्थितिमै सकियो नेकपा स्थायी कमिटीकाे बैठक, सीमा विवादबारे छलफल

 असार १२, २०७७ शुक्रबार १७:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको शुक्रबारको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानको लागि भारतसँग भएका प्रयासका बारेमा छलफल भएको छ । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र समेटेर नक्सा जारी गरी संविधान संशोधन भइसकेको सम्बन्धमा बैठकमा चर्चा भएको बताउनुभयो ।

बैठकमा भूमि फिर्ता लिन गरिएका प्रयासबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराउनुभएको समेत उहाँले बताउनुभयो । परराष्ट्र मन्त्री ज्ञवालीले भारतसँग भएका विभिन्न बेलाका सन्धि, सम्झौता र छलफलको प्रगतिको विषयमा जानकारी गराउनुभएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको समस्या समाधानको लागि वार्ता गर्न नोभेम्बर, डिसेम्बर र जनवरीमा गरी तीन पटकसम्म पत्र पठाउँदा समेत भारतले चासो नदेखाएको मन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराउनुभएको मन्त्री भट्टराईले बताउनुभयो ।

मन्त्री ज्ञवालीले कोभिड १९ को महामारी कम भएपछि मात्रै वार्तामा बस्ने अनौपचारिक जानकारी आएको बताउनुभएको थियो । यस्तै छिमेकी चीनसँग पछिल्लो समय सञ्चारमाध्यममा आएजस्तो कुनै सीमा समस्या नरहेको जानकारीसमेत गराउनुभएको थियो । 

बैठकमा सीमा क्षेत्रमा डुबानको समस्या, अपराधिक गतिविधिलगायतका विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बैठकमा जानकारी गराउनुभएको थियो । बैठकमा विभिन्न १८ जना स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेका छन् । नेताहरुले नेपालको अतिक्रमित भूमि समेटेर सरकारले जारी गरेको नक्साको प्रशंसा गर्दै भूमि फिर्ताका लागि कुटनीतिक संवादमा जानुपर्ने बताए ।

अर्काे बैठक शनिबार ११ बजे बस्ने गरी सकिएको हो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया