बारबर्दिया नगरपालिका : हरेक वर्ष एक जनालाई एमबीबीएस पढाउने

 असार १४, २०७७ आइतबार २०:०:१८ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहनदार विद्यार्थीलाई निःशुल्क एमबीबीएस (डाक्टर) पढाउने भएको छ । नगरका विद्यार्थीमध्ये एक जना गरिब, विपन्न तथा जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।   

विज्ञान विषय लिएर १२ कक्षा पास गरी एमबीबीएस पढ्न प्रवेश परीक्षामा नाम निकालेका एक जना विपन्न तथा जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाइ पूरा नहुञ्जेलसम्मको पढाइ खर्च नगरपालिकाले व्यहोर्ने गरी कार्यक्रम ल्याइएको नगरपालिकाका शिक्षा शाखा अधिकृत टिकानाथ गोसाईले जानकारी दिनुभयो । 

यसकाे लागि नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पहिलो वर्षकाे लागि १७ लाख रुपैयाँ विनियोजन गरेको छ । पढाइकाे लागि हरेक वर्ष बजेट छुट्याइँदै जाने नगरपालिकाले जनाएको छ । पाँच वर्षको अध्ययन अवधिमा झण्डै ४५ लाख रुपैयाँ खर्च हुने नगरको अनुमान छ ।
      
अध्ययन अवधिको खर्च व्यक्तिलाई नदिएर सिधै शिक्षण संस्थालाई प्रदान गरिने बताइएको छ । अध्ययन अवधिको व्यक्तिगत खर्च भने विद्यार्थी स्वयंले व्यहोर्नु पर्नेछ । अध्ययन पूरा गरेर आएपछि आफ्नै नगरमा रोजगार उपलब्ध गराउने नगरको योजना छ । एमबीबीएस पूरा गरेर आएपछि कम्तीमा दुई वर्ष आफ्नै नगरमा सेवा गर्नुपर्नेछ ।   

आर्थिक अभावकाे कारण विपन्न तथा जेहनदार विद्यार्थी एमबीबीएस पढ्नबाट बञ्चित नहुन् भनेर यो कार्यक्रम ल्याइएको नगरप्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । 

‘केही विद्यार्थीहरु जेहनदार तथा तीक्ष्ण बुद्धिका हुन्छन् । राम्रो अङ्क ल्याएर कक्षा १२ पास गरेका हुन्छन् । तर आर्थिक अभावकाे कारण आफूले चाहेको विषय पढ्न पाउँदैनन् । त्यस्ता विद्यार्थी लक्षित गरेर एक जना गरिब तथा जेहनदार विद्यार्थीलाई नगरले नै एमबीबीएस पढाउने योजना ल्याएका हौँ’, नगरप्रमुख थारुले भन्नुभयो । 

नगरको यो छात्रवृत्ति योजना अत्यन्तै प्रशंसनीय भएको स्थानीय युवा अमृत ढकालले बताउनुभयो । यसैगरी नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७/०७८ काे नीति, कार्यक्रम तथा बजेटमा नगरमा सिकलसेल विशेष अस्पताल निमार्ण गर्ने योजना समावेश गरेकाे छ । सिकलसेल थारु जातिमा मात्र लाग्ने वंशाणुगत रोग हो । बर्दिया जिल्लामा सिकलसेलका बिरामीको सङ्ख्या अन्यभन्दा बढी छ ।  

सिकलसेल रोगकाे बारेमा नगरका विद्यार्थीहरुलाई जानकारी गराउन विद्यालयहरुमा विगत वर्षदेखि नै स्थानीय पाठ्यक्रममा सिकलसेल रोगसम्बन्धी विषयमा पढाइ हुँदै आएको छ । यसका साथै नगरमा बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक शिक्षालाई जोड दिने नगरले योजना ल्याएको छ । 

कृषि व्यवसायलाई प्राथमिकतामा राखेको नगरपालिकाले मन्सुली धानको सङ्कलन, प्रशोधन र बजारीकरणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नगरप्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया