सलह कीरा हावासँगै पश्चिमतिर सर्ने अनुमान

 असार १५, २०७७ सोमबार ७:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रवेश गरेको सलह कीरा आज हावासँगै पश्चिमतिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् ।

अफ्रिकी देशबाट पाकिस्तान र भारत  हुँदै नेपालसम्म पसेको  सलह कीरा हावा जता बहन्छ, त्यही दिशातिर उड्ने गर्छ । आज हावा पश्चिमतिर सर्ने भएकाले सलह पनि पश्चिमतिर सर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज र भोलि पूर्वबाट हावाको बहाब पश्चिमतिर बढी हुनेछ । आजको दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने भएकाले सलह कीरा पनि त्यही अनुसार पश्चिमतिर बढी हुने सम्भावना रहेको अर्यालले बताउनुभयो ।

हावा जता बहन्छ सलह किरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । यो किरा हावाको दिशा पछ्याएर सयदेखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । भोलि पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने अनुमान छ ।

नेपालमा मनसुन शुरु भई निरन्तर वर्षा भइरहेकाले सलह कीराको प्रभाव कम हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।  पानीले भिजेपछि सलह कीराको जिउ गह्रुँगो भएर उड्न नसक्ने भएकाले र नेपालमा मनसुन सक्रिय  भइसकेकाले कम प्रभाव पर्ने मौसमविद अर्यालले बताउनुभयो ।

अबको केही दिन मनसुन सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश नम्बर १, २, ५ र ७ मा ठूलो पानी पर्ने सम्भावना छ भने देशभर नै सामान्य खालको पानी पर्ने सम्भावना रहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया