सलह किरा काठमाण्डाै उपत्यकासहित २५ भन्दा धेरै जिल्लामा पुग्याे

 असार १६, २०७७ मंगलबार २०:११:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा काठमाण्डौ पनि आइपुगेको छ । काठमाण्डाैमा प्रवेश गरेको सलह किरा उपत्यकाका तीन वटै जिल्लामा पुगेको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँले जानकारी दिनुभयो ।

बाराबाट नेपाल प्रवेश गरेको सलह मकवानपुर हुँदै काठमाण्डाै आइपुगेकाे हुमागाईँले बताउनुभयो । उहाँका अनुसार नेपाल पसेको सलहको समूह विभिन्न साना समूहमा छुट्टिएर २५ भन्दा धेरै जिल्लामा पुगिसकेको छ । बाराबाट नेपाल छिरेको सलहसँगै रुपन्देहीमा हिजो अर्को समूह पनि आएको थियो ।

सलह किराले दोलखा, स्याङ्जालगायतका जिल्लामा मकै तथा तरकारीलगायतका बालीमा क्षति पुर्‍याएकाे किसानहरुले बताएका छन् ।  

यसैबीच प्युठानको झिम्रुक गाउँपालिकामा स्थानीयले झ्याली बाजा बजाएर सलह किरा लखेटेका छन् । अर्को गाउँबाट सलह आउँदै गरेको थाहा पाएपछि झिमरुक गाउँपालिका २ मुलपानीमा गाउँलेहरु भेला भएर बाजा तथा आवाज आउने वस्तु बजाएर तथा आगो बालेर सलहलाई बस्न नदिइकन भगाएको स्थानीयले बताएका छन् ।

विभिन्न जिल्लामा छरिएको सलह किराको समूहमा कतै केही हजार र कतै लाखौँको सङ्ख्यामा रहेकाे प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । विषादी प्रयोग गरेर र किसानहरुले धुँवा आउने वस्तु बालेर, ड्रम बजाएर यसलाई भगाउन सक्ने केन्द्रले जनाएको छ । सलह किरालाई बिहानकाे समयमा विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ ।

साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८/९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाेले बिहान ५/६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया