नेकपामा सत्ता संघर्ष : दुवै गुट फुटको भारी अर्कोलाई बोकाउने कसरतमा

 असार २१, २०७७ आइतबार ९:३३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बलियो र स्थीर सरकारका साथ देशको काँचुली फेर्ने सपना देखाएर सत्तामा पुगेको नेकपा फुट्ने हो कि भन्ने चिन्ताले कार्यकर्तालाई मात्र होइन आमनागरिकलाई पनि निराश बनाएको छ ।

एकातिर चुनावी घोषणापत्रमा व्यक्त बाचा र प्रतिवद्धता प्रायः सबै अधुरै छन्, अर्कोतिर कोरोनाका कारण मुलक अस्तव्यस्त छ । मानिस रोग र भोकले मात्र हैन, निराशाले समेत झुण्डिएर र वीष खाएर मरिरहेछन् ।

तर नेकपाका नेताहरु लाज, शरम र घीनलाई पनि माथ गरेर खान नपाएको भोको स्यालझैं शक्तिको ताण्डब नाचमा मग्न छन् । देशमा गर्नुपर्ने कुनै काम बाँकी छैन जस्तो गरी सत्तारुढ नेकपाका शीर्ष नेताहरु शक्ति र सत्ताको लुछाचुँडीमा व्यस्त छन् । 

विवाद उत्कर्षमा

पार्टी एकताको वर्ष दिन नपुग्दादेखि नै खटपट हुँदै आएको नेकपाभित्रको अहिलेको विवाद उत्कर्षमा पुगेको छ । पछिल्लोपटक प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय चलखेल भएको र त्यस्तो चलखेलमा आफ्नै पार्टीका नेताहरूसमेत संलग्न रहेको अभिव्यक्ति दिएपछि नेताहरूबीच तिक्तता चुलिएको हो ।

सचिवालय र स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिए पनि ओलीले दुईमध्ये एक पद छाड्दा सहमति हुने सम्भावना देखिन्छ । तर ओलीलाई दुवै पदको अहंकारले थिचेको छ । आफू अध्यक्ष रहेको पार्टीलाई फुटबाट जोगाएर पाँच बर्ष सत्ता चलाउन छाडेर ओलीले आफ्ना मन्त्रीहरुलाई कित्ता प्रष्ट पार्न दिएको सुझाव भस्मासुरले आफ्नै थाप्लामा हात राख्नुअघि महादेवलई गुफामा थुनेको जस्तै अवस्था हो । 

शनिबार साँझ बालुवाटारमा मन्त्रीहरूसँगको छलफलमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी र आफूलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै जुनसुकै अवस्था सामना गर्न आफू तयार रहेको बताउनुभएको छ । 

प्रचण्ड र नेपाल पक्ष कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई दुईमध्ये एउटा पदबाट हटाएरै छाड्ने अडानमा छ । ओलीले यसलाई आफूविरुद्धको षडयन्त्रको रुपमा लिनुभएको छ । 

शनिबार मन्त्रीहरुसँगको छलफलमा पनि ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भएको बताउनुभयो ।

‘साथीहरु मेरो राजीनामा माग्दै हुनुहुन्छ, राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन कानुनी सल्लाहमा लाग्नुभएको बुझेको छु, यसलाई हामीविरुद्ध भएको षड्यन्त्रलाई मैले बाई वर्ड, बाई स्टेप (बचन र कर्मले) पराजित गर्नुपर्ने हुनसक्छ, त्यो बेला तपाईंहरूले पनि आफ्नो कित्ता क्लियर गर्नुपर्छ’ ओलीले मन्त्रीहरुसँग भन्नुभयो । 

प्रधानमन्त्रीको यो भनाइले मन्त्रीहरु थप सशंकित भएका छन् । आफ्नो पक्षमा नहुनेलाई प्रधानमन्त्रीले राजीनामाको लागि दबाब दिएको हुन सक्ने कतिपयको बुझाई छ । 

शनिबार साँझ मन्त्रीहरुसँगको छलफलले प्रधानमन्त्री ओली जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडानमा हुनुहुन्छ भन्ने प्रष्ट पारेको छ । अर्का अध्यक्ष प्रचण्ड तथा नेपालसहितका नेताहरु जसरी पनि ओलीलाई एउटा पद छोडाउने अभियानमा छन् । 

शुक्रबार प्रचण्डसँगको छलफलमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने बताउनुभएको थियो । मंसिर ४ को सहमतिमा ओलीले पाँचवर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने भन्ने उल्लेख छ । 

तर मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमति अनुसार अघि बढ्नुपर्ने अडान लिनुभएको छ । यो सहमतिमा दुवै अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ । दुवै अध्यक्ष आआफ्नै अडानमा रहेकाले स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ ।

फुट्न नदिन नेता कार्यकर्ताको अभियान

पार्टी एकतालाई जोगाउन र सहमतिका साथ अघि बढ्न नेकपाका दोस्रो पुस्ताका नेता र कार्यकर्ताले नेतृत्वलाई दबाब दिइरहेका छन् । ओली, प्रचण्ड र नेपालपक्षकै नेताहरू दबाब अभियानमा संगठित भएका हुन् । उनीहरुले एकतालाई सुदृढ गर्न तथा एकता विरोधी अभियान तत्काल रोक्नका लागि शीर्ष नेताहरूलाई भेटेर दबाब दिने तयारी गरेका छन् ।

जिल्लास्तरमा पनि नेकपा नेताहरुले पार्टीलाई विभाजन हुन नदिन शीर्ष नेताहरुलाई दबाब दिइरहेका छन् । उनीहरुले दुवै पक्षलाई अडानबाट केही लचिलो भएर जान सुझाव दिइरहेका छन् । 

तर दुवै पक्ष तत्काल आआफ्नो अडानबाट लचिलो हुने सम्भावना छैन । शनिबारको स्थायी कमिटी बैठक सोमबारलाई सारिएको छ । आइतबार ओली र प्रचण्डसँगै अरु नेताहरुबी चपनि छलफल हुँदैछ । यो छलफलले कुनै पक्षलाई लचिलो बनाउन सक्यो भने बेग्लै कुरा, नत्र नेकपाको फुटलाई कसैले रोक्न सक्ने छैन । किनकि नेकपाको दुवै गुटले चाहेको पार्टीको फुट नै हो ।

अहिले त दुवै गुट पार्टी फुटाएको अपजसको भारी कस्ले कस्लाई बोकाउने भन्नेमा मात्र केन्द्रित छन् । भित्रभित्रै कहिल्यै नजुटेको नेकपाका दुवै पक्ष पार्टी फुटाएर अपजस अर्काको थाप्लामा हाल्ने अवसरको खोजीमा लागेको त धेरै भैसक्यो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया