ओली–प्रचण्डको छलफल सकियो, आ–आफ्नै अडानमा यथावत्

 असार २१, २०७७ आइतबार १४:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्टीभित्रकाे विवाद मिलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको र नेताहरु जनार्दन शर्मा, विष्णु पौडेल, शंकर पोख्रेल र वर्षमान पुन सहभागी थिए ।

बैठकमा फुटतर्फ पुगेको नेकपाको एकता जोगाउने विषयमा कुराकानी भएको तर दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेको एक नेताले जानकारी दिएका छन् । भोलि स्थायी कमिटीको बैठक बस्नुअघि फेरि छलफल गर्ने सहमति भएको पनि ती नेताले उज्यालोलाई जानकारी दिएका छन् ।   

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटेर जस्तोसुकै कदम चाल्न सक्ने जानकारी गराएको र मन्त्रीहरुलाई बोलाएर आफू कुन कित्ताको हो प्रष्ट पार्न भनेपछि अवस्था झनै बिग्रिएको छ ।

आज बिहान प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले चाल्ने अप्रिय कदममा साथ नदिन र आफूहरुले राष्ट्रपतिविरुद्ध कुनै पनि योजना नबनाएको प्रष्ट पारेका छन् । स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो ।

ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ । हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि साेमबारसम्मको लागि स्थगित भएको छ ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया