सलहको झुण्ड कम हुँदै

 असार २३, २०७७ मंगलबार ७:४७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको तीन दिनदेखि नेपालमा सलहको झुण्ड कम हुँदै गएको छ ।

झण्डै ८० लाखको संख्यामा भारतबाट नेपाल प्रवेश गरेका  सलह  कम हुँदै गएको प्लाण्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले जानकारी दिनुभयो । गएको तीन दिनयता कुनै पनि जिल्लामा सलहले नोक्सानी गरेको खबर नआएको उहाँले बताउनुभयो ।

झुण्डहरु केही तितरबितर भएका तथा केही मरेका र केही चिसो ठाउँतिर गएकाले आफैँ हराएका उहाँले बताउनुभयो । सलह नेपाल प्रवेश गरेदेखि नै उपयुक्त वातावरण नभएकाले पनि हराएका उहाँको भनाई छ ।  बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरैको संख्यामा सलह मरेका पाइएको उहाँले बताउनुभयो । 

यस्तै कालिकोट, रुकुम, मुस्ताङ लगायतका ठाउँमा पनि झुण्ड पुगे पनि चिसो हावापानीका कारण आफैं मरेका हुन सक्ने उहाँको भनाई छ । कम तापक्रम भएको बेला सलह बाँच्ने सम्भावना अत्यन्तै कम हुने उहाँले बताउनुभयो । नेपालभित्र फैलिएका सलहका झुन्डहरुबाट टुक्रिंदै समूहमा फैलिएर देशका ५५ वटा जिल्लामा पुगेको थियो । 

२, ३ दिन यता लगातार पानी परेकाले पनि झुण्ड सक्रिय हुन नपाएको हुन सक्ने उहाँको भनाई छ । यो झुण्ड अब सक्रिय भए पनि खासै नोक्सानी नपुर्याउने उहाँले बताउनुभयो । २२ डिड्री सेल्सियसभन्दा कम तापक्रम भएको ठाउँमा सलह उड्न सक्दैन । 

यो कीराले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पु¥याएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । झण्डै ११ सय १८ हेक्टरमा लगाइएको मकै, तरकारी, फलफुल र भटमासमा क्षति पुर्‍याएको छ । 

यसैबीच यो झुण्ड फैलने खतरा धेरै नभए पनि भारतको राजस्थानमा रहेको झुण्ड नेपाल आउने सम्भावना अझै रहेको हुमागाईंले बताउनुभयो । राजस्थानमा धेरैको संख्यामा झुण्डहरु रहेकाले नेपाल आउने खतरा अझै रहेको उहाँको भनाई छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया