भेल पहिरो र बाढीको जोखिम बढ्दै, यसरी सुरक्षित होऔँ !

 असार २३, २०७७ मंगलबार ९:४७:३१ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा शुक्रबार राति भेल पहिरो आयो । बेलुका खानपिन गरेर सुतेका स्थानीयबासिन्दाको मध्यरातमा भागाभाग भयो । गड्याङगुडुङ सहितको ठूलो आवाज सुनेर हारगुहार र हल्लाखल्ला भएपछि निद्राबाट ब्युँझिएकाहरुले भागेर ज्यान जोगाए । मध्यराति आएको भेल पहिरोमा १८ घर बगे । ६ जनाको ज्यान गयो । पहिरोमा बेपत्ता २२ वर्षका गिरिजा जेठारा अझै फेला पर्नुभएको छैन ।

मनसुन नेपाल प्रवेश गरेकै दिन जेठ ३० गते राति पर्वतको दुर्लुुङ ढकालबारीमा पहिरो खस्यो । पहिरोमा परी ९ जनाले ज्यान गुमाए । घटनापछि खानी तथा भूगर्भ विज्ञ सहितको सरकारी टोली अनुगमनमा गयो । टोलीले भेल पहिरो गएको निचोड निकालेको छ ।

बझाङ र पर्वतमा जस्तै विभिन्न जिल्लामा भेल पहिरोको जोखिम बढ्दै गएको छ । पानी परेपछि खोला, खोल्सा, पहरामा लेदो भेल सहित पहिरो नै झर्ने क्रम बढेको हो । पछिल्ला दिनका यी घटनाले पनि जोखिम बढेको पुष्टि गरेको छ ।

शुक्रबारदेखि भारी वर्षा : पूर्वसावधानी अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि देशभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार मनसुन सक्रिय रहेकाले धेरैजसो ठाउँमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ । असार २६ देखि २९ गतेसम्म धेरैजसो नदीमा सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्नेछ ।

कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको हो । यस्तै प्रदेश नम्बर १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही ठाउँमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ । विभागले पू्र्व सावधानी अपनाउन समेत आग्रह गरेको छ । 

ठूला नदी आसपासका क्षेत्रमा मात्र नभई ठूलो पानी पर्दा सबैले सावधानी अपनाउन सके क्षति हुनबाट जोगिन सकिन्छ । त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा जुट्न पालिका र समुदायलाई अनुरोध गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार पहाडी भेगमा भेल पहिरो र तराईमा बाढी र डुबानको जोखिम बढी हुने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ । 

जोखिम बढ्यो 

मनसुन सुरु भएको २५ दिन भएको छ । यो वर्ष दुई दिन ढिला अर्थात् जुन १२ देखि नेपाल प्रवेश गरेको थियो । जेठ ३० गते पूर्वबाट नेपाल भित्रिएको मनसुन एक हप्तापछि सुदूरपश्चिम पुग्यो । यो वर्ष मनसुन सुरु भएपछि पोहोरको भन्दा दोब्बर बढी पानी परेको छ ।

जमिन नै भिज्ने गरी पानी परेपछि भेल पहिरो, बाढी र डुवानको जोखिम पनि उत्तिकै बढेको छ । मनसुनका बेला बर्सेनि बाढी, पहिरो, डुबानले क्षति गर्दै आएको छ । तर ढुङगा, माटो, लेदो सहित बग्ने भेलबाढीले यसपटक तुलनात्मक रुपमा बढी क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पर्वत र बझाङमा भेल पहिरो गएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

भेल पहिरो कसरी जान्छ ? 

भेलपहिरो धेरै पानी परेपछि कमजोर बनेका पहाडमा जाने गर्छ । ढुङगा, माटो, लेदो सहित बोटबिरुवा पनि सोहर्दै बग्ने जलाधार विज्ञ मधुकर उपाध्याय बताउनुहुन्छ । पर्वत र बझाङमा अरु बेला कल्पना समेत नगरेको ठाउँमा भेल पहिरोले बगाएको प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण रुख बिरुवा भएको ठाउँमा समेत पहिरो जान थालेको विज्ञले बताउँदै आएका छन् । जलाधार विज्ञ उपाध्यायका अनुसार भेलबाढी जति तल बग्दै जान्छ, त्यो भेलको क्षमता गुणात्मक रूपमा बढ्दै जान्छ । त्यसले क्षति पनि उत्तिकै हुने गरेको छ । पानीको निकासको उचित व्यवस्थापन हुन नसक्दा र भएको निकासमा पनि रोकावट हुँदा यस्ता पहिरो खस्ने उहाँको भनाइ छ । 

सुरक्षित कसरी हुने ?

विपद्बारे पूर्वअनुमान गरी सावधानी अपनाउन सके क्षति घटाउन सकिन्छ । यसअघि अनुमान नै नगरेका ठाउँमा गएको भेल पहिरोबारे सरकारले अध्ययन थालेको जनाएको छ । त्यसबाहेक अरु ठाउँमा सुरक्षित रहन पूर्वसूचना सहित आवश्यक बन्दोबस्त मिलाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलको दावी छ । 

‘पूर्वतयारी र प्रतिकार्यको योजना बनाएर त्यसैअनुसार कार्यान्वयन गर्दै आएका छौं, ‘उहाँले भन्नुभयो, ‘अझै सशक्त रुपमा लैजाने गरी छलफलमा जुटेका छौ ।’ तर जोखिमको पहिचान र अनुमान गर्न स्थानीयबासिन्दा आफैले सक्ने भएकाले त्यस्ता ठाउँमा सकेसम्म नबस्न र आफै सचेत बन्न उहाँको आग्रह छ । त्यसका लागि व्यक्ति, परिवार र समुदायले विभिन्न उपाय अपनाउन उहाँको सुझाव छ ।

१.   सबैभन्दा पहिला कस्तो ठाउँमा बसेका छौं भनेर पहिचान गर्ने ।

२.  भेलबाढी, पहिरो, डुबान विगतमा भए/नभएको जानकारी राख्ने ।

३.  पूर्वसूचना प्रणाली र चेतावनीबारे जानकार हुने ।

४.  जोखिम छ भन्ने लागेको खण्डमा पानी परेका बेला सर्तक रहने ।

५.   भूकम्पपछि जोखिम पहिचान भएका ठाउँमा बसेकाहरु बढी चनाखो हुने ।

६.   आफूले थाहा पाएको सूचना छरछिमेकीलाई पनि सुनाउने ।

७.   उच्च जोखिम भनिएका ठाउँमा केही दिन÷हप्ता या महिनाका लागि बसाईं सर्ने ।

अन्तिम अपडेट: असार २९, २०७७

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया