नारायणी लिफ्टबाट पानी छाडियो

 असार २३, २०७७ मंगलबार १४:१३:१० | रासस
unn.prixa.net

चितवन – नारायणी लिफ्ट सिँचाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिँचाइका लागि मुख्य नहर मानिएको याे लिफ्टको पम्प हाउस 'ए' बाट मङ्गलबार पानी छाडिएको हो । 

नारायणी लिफ्ट सिँचाइ खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । पश्चिम चितवनको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ । 

पानी छोडिएपछि अहिले 'बी' र 'सी' नगरबाट पानी पठाइएको छ । बी नहरबाट दुई हजार चार सय हेक्टर र सी नहरबाट दुई हजार तीन सय हेक्टर क्षेत्रफल सिँचाइ हुने गरेको छ । नारायणी लिफ्टमा अहिले चार वटा पम्प रहेका छन् । दुई वटा चार क्युमेक र दुई वटा दुई क्युमेकका पम्प रहेका छन् । 

साउन महिनाबाट अर्को ठूलो पम्पसमेत सञ्चालनमा ल्याइने छ । पम्प सञ्चालनमा आएसँगै एक लाख पचास हजार उपभोक्ता लाभान्वित हुने नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि कात्तिकको पहिलो हप्तासम्म पानी छोडिने छ । पानी छोड्नु अघि पम्पमा परम्पराअनुसार पूजाआजसमेत गरिएको थियो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया