टिकटकले भन्यो, 'हङकङबाट चाँडै नै हट्दैछौँ'

 असार २३, २०७७ मंगलबार १९:५:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चर्चित भिडिओ एप टिकटकले आफू चाँडै नै हङकङबाट हट्ने बताएको छ । चीनको नयाँ सुरक्षा कानुनको कारण आफू त्यहाँबाट हट्न लागेको टिकटकले बताएको हो । 

कम्पनीका एक प्रवक्ताले बीबीसीसँग भने, ‘पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै हामीले हङकङमा टिकटकको काम बन्द गर्ने फैसला गरेका हौँ ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार टिकटक कम्पनी केही दिनमै हङकङबाट बाहिरिँदै छ । 

चीनमा रहेको बाइटडान्स नामको कम्पनीले यो शर्ट–फर्म भिडिओमा आधारित मोबाइल एप लन्च गरेको थियो । यसको उद्देश्य चीनबाहिरका मानिसलाई यो एपतर्फ आकर्षित गर्नु थियो । 

बाइटडान्स कम्पनीले चीनमा पनि टिकटक जस्तै शर्ट–फर्म भिडिओ शेयरिङ एप चलाउँदै आएको छ, जसको नाम डोइन हो । 

वाल्ट डिज्नीका पूर्वकार्यकारी प्रमुख केभिन मेयर टिकटक एपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । 

टिकटक प्रयोगकर्तासँग जोडिएको तथ्याङ्क चीनमा सङ्कलन गरेर नराखिने उनले बताएका थिए । 

कम्पनीका अनुसार चीन सरकारले अहिलेसम्म उसँग यस किसिमको कुनै पनि जानकारी मागेको छैन । 

तर हङकङमा चीनले नयाँ सुरक्षा कानुन बनाएपछि चिनियाँ अधिकारीहरुलाइै अत्यधिक अधिकार मिलेको छ र यही कारण प्रयोगकर्ताको डाटाको गोप्यतालाई लिएर चिन्ता बढेको हो । 

यसैबीच अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले फक्स न्युजसँग भनेका छन्, ‘अमेरिका निश्चित रुपमा टिकटकसहित चिनियाँ सामाजिक सञ्जाल एप प्रतिबन्ध लगाउनेबारेमा विचार गरिरहेको छ ।’

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसबारेमा यसअघि केही नभनेको तर अब अमेरिकाले विचार गरिरहेकाे बताए ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया