खाडी र मलेसियाबाट धमाधम फर्कंदै नेपाली, मंगलबार मात्रै ११ सय ७४ जना स्वदेश आइपुगे

 असार २३, २०७७ मंगलबार १९:१५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज खाडी र मलेसियाबाट विभिन्न सात उडानमार्फत ११ सय ७४ जना नेपाली स्वदेश आइपुगेका छन् ।

कुवेतबाट तीन उडानमार्फत ४६८ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४९ जना र आममाफीमा सहभागी ३१९ जना जजिरा एअरको दुई उडानमार्फत आज स्वदेश फर्किएका हुन् ।

यस्तै आज साउदीबाट पनि दुई उडानमार्फत नेपालीहरु स्वदेश आएका छन् । नेपाल एअरलान्सको चार्टर्ड उडानमार्फत साउदीको रियादबाट २५२ जना र हिमालयको चार्टर्ड उडानमार्फत दमामबाट १५४ जना घर फर्किएका हुन् । दमामबाट २ र रियादबाट १ जना नेपालीको शव पनि ल्याइएको छ ।

हिमालय एअरलाइन्सकै चार्टर्ड उडानमार्फत आज यूएईको आबुधावीबाट पनि दुई बच्चासहित १५५ जना नेपाली स्वदेश आएका छन् भने मलेसियाको क्वालालाम्पुरबाट १४८ जना फर्किएका विमानस्थलले जनाएको छ ।

यतै आज राति नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज यूएईको दुबई र कतारको दोहा जाँदैछन् ।

भोलि कहाँ कहाँबाट आउँदैछन् नेपाली ?

भोलि बुधबार नेपाली ल्याउन र लिन जानका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कंदैछन् । कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थलले उल्लेख गरेको छ ।

बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउनेछन् । नेपाल एअरलाइन्समार्फत यूएईको दुबईबाट नेपालीहरु फर्कंदैछन् भने हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कनेछन् । भोलि साउदी, यूएई, मलेसिया लगायतका देशमा नेपाली लिन जहाज जानेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया