नेपालमा सलह : केही मरे, बाँचेका पनि निष्क्रिय

 असार २३, २०७७ मंगलबार १९:५०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आएको सलह किरा निष्क्रिय भएको प्लाण्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

गएको तीन दिनदेखि सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले नेपाल आएका सलह अब सक्रिय हुने सम्भावना सकिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

सलह किरा १६ डिग्री सेल्सियसभन्दा तलको तापक्रममा नबाँच्ने, हावाका कारण सलह लेकतर्फ लागेको, नेपाल आएका झुण्ड तितरबितर भएको र पानी पर्दा सक्रिय हुन नसक्नेजस्ता कारण नेपाल आएको सलहले धेरै क्षति गर्न नपाएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरैको सङ्ख्यामा सलह मरेकाे पाइएको उहाँले बताउनुभयो । यस्तै कालीकोट, रुकुम, मुस्ताङलगायतका ठाउँमा झुण्ड पुगे पनि चिसो हावापानीकाे कारण आफै मरेका हुन सक्ने उहाँको भनाइ छ । नेपाल भित्रिएका झण्डै ८० लाख सलह किरा स–साना झुण्डमा बाँडिएर देशका ५५ वटा जिल्लामा पुगेका थिए ।

सलहले दाङ, प्युठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

यसैबीच भारतमा रहेको अरु झुण्ड नेपाल आउने सम्भावना पनि कम भएको सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । तर यसको निर्क्याेलका लागि बुधबारकाे प्राविधिकसहितको बैठकबाट आउन सक्ने वा नसक्ने अवस्थाको आँकलन गरिने उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया