रुकुम पश्चिम : पहिरोले स्वास्थ्य चौकी भवन पुरियो, नगरपालिकाको भवन जोखिममा

 असार २३, २०७७ मंगलबार २१:३२:३१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - अविरल वर्षाको कारण चौरजहारी नगरपालिका १४ को स्वास्थ्य चौकी भवन पहिरोले पुरेको छ ।

साक्चा खोलामा रहेको चार कोठे स्वास्थ्य चौकी भवन सोमबार राति खसेको पहिरोले पुरेको हो । पहिरोले पुर्दा स्वास्थ्य चौकी भवनमा पूर्णरुपमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । पहिरोका कारण भवनसहित स्वास्थ्य चौकीमा रहेका औषधिसहित अन्य सामग्रीमा क्षति पुगेको स्वास्थ्य चौकी इञ्चार्ज छवि खड्काले जानकारी दिनुभयो । 

केही औषधि र सामान भने निकालिएको उहाँको भनाइ छ । स्वास्थ्य चौकी भवन पहिरोले पुरिएपछि स्थानीयको घरमा सामान सारेर सेवा दिइरहेको इन्चार्ज खड्काले बताउनुभयो । स्थानीय एक जनाले स्वास्थ्य चौकी भवनको माथिल्लो भागमा रहेको पाखो भिरालो जमिन डोजर लगाएर सम्याइ पर्खाल लगाएको र वर्षाको कारण सबै भाग खसेर स्वास्थ्य चौकी भवन पुरिएको बताइएको छ । 

जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेकामा त्यो भवन पनि पहिरोले पुरेपछि सेवा प्रवाहमा समस्या देखिएको छ । इन्चार्ज खड्काकाअनुसार भवन मर्मत गर्न सकिने अवस्था नरहेको र अब नयाँ भवन बनाउनुको विकल्प छैन । त्यस्तै पहिरोले एक घर पुरिएको छ भने एक दर्जन घर जोखिममा रहेको वडाध्यक्ष अतिराम विष्टले बताउनुभयो । 

वडाको ठूलो बिरालगाउँकी सुधा खड्काको घर माथिबाट आएको पहिरोले पुरेको र सानो बिरालगाउँमा रहेका १० घर पहिरोको उच्च जोखिममा रहेको उहाँको भनाइ छ । त्यस्तै वडाका विभिन्न ठाउँमा लगाइएका मकै बालीमासमेत क्षति पुगेको छ ।  

आठबीसकोट नगरपालिकाको कार्यालय जोखिममा

यसैबीच रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । वडा नं. ९ को राडी बजार नजिकै रहेको नगरपालिकाको कार्यालय राडी पाखाबाट खसिरहेको पहिरोको कारण उच्च जोखिममा परेको हो । 

पहिरोका कारण नगरपालिकाको कार्यालय रहेका भवनहरु पुरिने जोखिम बढ्दै गएको छ । लगातारको वर्षाका कारण निरन्तर पहिरो खसिरहेको छ । 

पहिरो खसिरहेकाले कतिबेला नगरपालिका कार्यालय पुर्छ भन्ने चिन्तामा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु रहेका छन् । 

यसैबीच राडी बजारमा ल्याइएको खानेपानी अवरुद्ध भएको छ । नगरपालिका कार्यालयलाई जोखिममा पारेको पहिरोले पाइपमा क्षति गरेपछि राडी बजारमा खानेपानीको आपूर्ति बन्द भएको हो । जसका कारण राडी बजारबासी खानेपानीको समस्यामा परेका छन् ।

जोखिमको बीचमा पनि नगरपालिकाले सेवा भने प्रवाह गरिहेको छ । नगरपालिकाको कार्यालय गिजागाड खोलाको समेत जोखिममा रहेको छ । गएको वर्ष खोलामा आएको बाढी नगरपालिकामा पस्दा क्षति भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया